एनपीएलका लागि १४२ खेलाडी


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको लागि हुने अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो।

क्यानले असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो। एक साताको अवधिमा कुल ४ सय २६ नेपाली खेलाडीले अक्सनको लागि आफ्नो नाम दर्ता गराएका थिए।

नाम दर्ता गराएका खेलाडीहरुलाई क्यानले सूचीकृत गरी १ सय ४२ खेलाडीको अन्तिम नामावली प्रकाशित गरेको हो। जसमा क्याटागोरी ‘ए ‘ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ जना खेलाडी समावेश छन्। तर, ४ सय २६ जनामा रहेका मध्ये कुनै खेलाडीलाई लिगमा सहभागी ८ टिमले राख्न चाहेमा शुक्रवारसम्ममा अधिकतम ३ खेलाडीको नाम बुझाउन सक्नेछ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको अक्सन आइतवार काठमाडौंमा हुनेछ। लिगमा सहभागी रहने विदेशी खेलाडी भने टिमले सिधै अनुबन्ध गर्न पाउनेछ। ८ टोली सहभागी रहने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ।