दीपेन्द्र दोस्रो स्थानमा उक्लिए


काठमाडौं ।

नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी २० वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन्।

आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गरेका हुन् । दीपेन्द्रभन्दा अगाडि इङल्यान्डका लियाम लिभिङस्टोन छन् । दीपेन्द्र २३० को रेटिङमा रहँदा लिभिङस्टोनको २५३ छ ।

अलराउन्डतर्फ नै गुलशन झा ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा रहेका छन् । यसैगरी कप्तान रोहितकुमार पौडेल यथा स्थानमा छन्। रोहित र गुल्सन ५३, कुशल मल्ल ४० र कुशल भुर्तेल ६०औं स्थानमा छन् ।

ब्याटिङतर्फको वरीयतामा पनि दीपेन्द्र दुई स्थान सुधार गर्दै ४३ औं स्थानमा रहेका छन्। रोहित एक र आसिफ शेख दुई स्थान तल झरेका छन्। उनीहरू क्रमशः ६१ र ७०औं स्थानमा छन्। यसैगरी कुशल मल्ल एक स्थान सुधार गर्दै १०० औं वरियतामा छन्।

बलिङतर्फ पनि दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औं स्थानमा उक्लिए। सोमपाल कामी एक स्थान खस्किदै ९१ औं स्थानमा पुगेका छन्। टी २० टिम वरीयतामा भने नेपाल १७ औं स्थानमा कायमै रहेको छ।