दशैं शुरू, आज घटस्थापना


काठमाडौं ।

नेपालीहरूको महान् पर्व बडादशैं आज बिहीबारदेखि शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ।

धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ । फुर्सद हुने र साइत खोज्नेले बिहान ९ बजेर १६ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा घटस्थापना गर्दा राम्रो हुनेछ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने नेपालीको महान पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ। घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ। कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने प्रचलन रहेको छ।

कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ। बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ छर्ने गरिन्छ।

त्यहीँनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ। नवदुर्गा देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ।

समितिका अनुसार असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसादस्वरूप टीका लगाउने गरिन्छ। यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।