सोचसहितको स्पष्ट लक्ष्य र निरन्तरको प्रयास र मिहिनेत गर्ने बानी भए सफलता विस्तारै आउँछ भन्ने कुरा विश्वमा कयौं उदाहरण छन्। तीमध्ये केही प्रतिनिधि पात्र र उनीहरूको सफलता यहाँ प्रस्तुत गरिएको छ।
सन् १९६५ मा फ्रेड स्मिथ येल विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत् थिए। अध्ययनकै क्रममा उनलाई अर्थशास्त्र विषयको एउटा रिसर्च पेपर तयार गर्नु थियो। प्रयोगात्मक जाँचका निम्ति उनले रोजेको शीर्षकअन्तर्गत अमेरिकामा सामानको ढुवानी प्रक्रियासम्बन्धी अनुसन्धान थियो।
विश्वविद्यालयको रिसर्च पेपरका निम्ति उनले गरेको अध्ययनमा त्यतिबेला सामान ढुवानी गर्न ट्रक वा यात्रु हवाईजहाजमा मात्रै निर्भर हुनुपर्ने थाहा पाए। स्मिथले त्यसको विकल्पका बारेमा सोच्न थाले। रिसर्च पेपरको अन्तिममा उनले साना र अत्यावश्यक वस्तु बोक्ने कम्पनी राम्रो व्यवसाय हुनसक्छ भन्ने निष्कर्ष उल्लेख गरे। तर, यस्तो कम्पनी कसरी सञ्चालन गर्ने भन्नेबारे उनले विस्तृतमा उल्लेख गरेनन्।
उनको पेपरलाई प्रोफेसरले ‘सी’ श्रेणी प्रदान गरे। यद्यपि, उनी निराश भएनन्। अध्ययनका क्रममा आएको विचारलाई छाडेनन् र सन् १९७१ मा फेडरल एक्सप्रेस कम्पनी स्थापना गरे। तर, स्थापना भएको छोटो समयमै कम्पनी नोक्सानीमा गयो। इन्धनको बढ्दो मूल्यका कारण त्यसलाई घाटा भइरहेको थियो।
कम्पनी घाटामा गएपछि उनी पैसा खोज्न धेरै ठाउँमा भौतारिए। सबै ठाउँबाट उनको प्रस्ताव अस्वीकार गरिन्थ्यो। सबैतिरबाट निराश भएको अवस्थामा प्रायः मानिसले कम्पनी बन्द गर्ने गर्छन्। तर, फ्रेड स्मिथले हार मानेनन्। स्मिथ बरु अर्को शहर लस भेगासतर्फ गए। आफ्नो उद्देश्यमा स्पष्ट उनले प्रयास जारी राख्दै कामलाई निरन्तरता दिइरहे। चाँडै नै कम्पनी नाफामा गयो। आज त्यो कम्पनीले ‘फिडेक्स’ नामबाट विश्वबजारका २२० भन्दा बढी देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ। यसले वार्षिक करिब ५० बिलियनको कारोबार गर्छ।
त्यस्तै, सोइचिरो होन्डा ग्यारेजमा मेकानिक्स थिए। उनको काम रेसका लागि कारलाई तयार पार्नु थियो। होन्डाले सन् १९३७ मा पिस्टन रिङ निर्माण गर्ने कम्पनी टोकाई सेकी स्थापना गरेका थिए। सो कम्पनीले अन्य अटोमोबाइल कम्पनीलाई पिस्टन रिङ आपूर्ति गथ्र्यो। पछि टोयोटालगायतलाई आपूर्ति गर्ने सम्झौता ग¥यो। तर, केही समयपछि नै गुणस्तरहीन उत्पादन भएको भन्दै टोयोटाले सम्झौता रद्द ग¥यो।
उनले टोयोटाको गुणस्तर नियन्त्रण प्रक्रियालाई राम्ररी बुझ्ने प्रयास गरे। सन् १९४१ सम्म टोयोटालाई स्वीकार्य पिस्टन रिङ उत्पादन गर्न सक्षम भए। साथै टोयोटाले उनको कम्पनीमा ४० प्रतिशत शेयर लियो र होन्डा कम्पनीको अध्यक्षबाट वरिष्ठ प्रबन्ध निर्देशकमा घटुवा पनि भयो।
सन् १९४४ मा अमेरिकी बम आक्रमणमा टोकाई सेकीको कारखाना ध्वस्त भयो। होन्डाले कम्पनीका अवशेष टोयोटालाई नै बेचेर त्यसबाट प्राप्त केही रकम लिएर सन् १९४६ अक्टोबरमा होन्डा प्राविधिक अनुसन्धान कम्पनी स्थापना गरे। जम्मा १७२ वर्ग फुटको कोठामा १२ जना कर्मचारीसँग काम शुरू गरे। तिनीहरूले तोहात्सु इन्जिनको आफ्नै प्रतिलिपि बनाएर सुधारिएको मोटरसहितको साइकल बनाए। ग्राहकको साइकलमा मोटर जोड्न प्रेरित पनि गर्दै गए।
होन्डाको मिहिनेतले सन् १९६४ सम्म आइपुग्दा होन्डा मोटर कम्पनीका रूपमा विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता बन्यो। त्यसपछि होन्डाले मिनी पिकअप ट्रकमा प्रवेश गर्दै अन्ततः कार पनि निर्माण ग¥यो। अहिले टोयोटाको प्रतिस्पर्धी कम्पनीका रूपमा स्थापित भएको छ।
प्रतिक्रिया