फिफा अध्यक्ष नेपाल नआउने


काठमाडौं ।

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले नेपाल भ्रमण नगर्ने भएका छन्। इन्फान्टिनो यही अक्टोबर ७ मा नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा बढ्दो चरम विवाद र नेपालमा गत साता गएको बाढी पहिरोका कारण इन्फान्टिनोले अहिलेको समय भ्रमणको लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बाढी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फान्टिनोको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको बताए । इन्फान्टिनोको भ्रमण नहुने भएपछि एन्फाले सोल्टी होटलमा उनीलगायत फिफा प्रतिनिधि मण्डलका लागि बुक गरेको कोठाहरु रद्द गरेका छन्।

भुटानको औपचारिक भ्रमणमा निस्कने क्रममा इन्फान्टिनोसहित १७ सदस्यीय फिफाको प्रतिनिधि मण्डलले १२ घण्टा काठमाडौंमा बिताउने कार्यक्रम थियो । निर्धारित कार्यक्रमअनुसार निजी बिमानमा इन्फान्टिनोको टोली यही अक्टोबर ७ तारिखमा बिहान ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो।

काठमाडौंमा १२ घण्टा बिताएपछि दिउँसो ३ बजे सो टोली भुटान जाने कार्यक्रम थियो। भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरीक्षण गर्ने र भुटानमा फुटबल विकासको लागि उच्चस्तरीय भेटघाटमार्फत् योजना बनाउने कार्यक्रम छ।