ललितपुरमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

2.63k
Shares

ललितपुर ।

बाढीपहिरोमा परी मृत्यु भएका थप ९ जनाको शव मंगलवार फेलापरेसँगै ललितपुरमा मृत्यु हुनेहरूको संख्या ४३ पुगेको छ।
बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गरी शव फेलापरेसँगै मृतकहरूको सख्ंया बढ्दै गएको हो।

बिहानीसम्ममा मृत्यु हुनेको थप जनाको ६ शव फेला परेको थियो । दिउँसो ३ बजेपछि फेरि थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । बेपत्ता हुनेहरूको खोज अझै जारी रहेको र गए रातिसम्ममा मृत्यु हुनेहरूको संख्या ४३ पुगेको परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

महाकाल गाउँपालिका–२ तिप्ते खोला बस्ने वर्ष १३ की संजिता स्याङ्ताङ, ललितपुर महाकांल गाउँपालिका–३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाकी श्रीमती वर्ष ४० को गोमा तिमल्सिना, सोही गाउँपालिका–१ बुखुल कटुल बस्ने वर्ष ६३ को जयबहादुर लोको शव पछिल्लो पटक फेला परेको परिसरले जनाएको छ । शनिवार बाढी, पहिरो आएसँगै तीन जना बेपत्ता भएका थिए । ईश्वर तिमिल्सिनाको शव यसअघि नै फेलापरेको थियो । तिमल्सिना दम्पती शनिवारदेखि हराइरहेका थिए ।

महांकाल गाउँपालिका–२, मानिखेल, लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तान, महांकाल–२, ठोस्ने खोलाका एकै परिवारका ४० वर्षीया राममाया स्याङ्तान, उहाँका छोरा १४ वर्षीय अजय स्याङ्तान, छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी ९ वर्षीया सजिना स्याङ्तानको शव फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।

रौतहट घर भई ललितपुर महानगरपालिका १४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ५ को सेतु साह र ३२ वर्षको बिकाउ साह, ओखलढुंगा घर भई ललितपुर बस्ने वर्ष ४० को देवराज कार्कीको शव फेला परेको थियो । अहिलेसम्म फेला परेका शव पाटन अस्पतालमा ल्याएर पोस्टमार्टम गरी आफन्तले बुझेर लग्ने क्रम जारी रहेको छ । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार बाढी र पहिरोले बढी क्षति गरेको महांकाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरबाट राहत तथा उद्धारको कार्य भइरहेको छ ।

जिल्ला विपद् व्यवस्थापनसँग समन्वय गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत् शनिवारदेखि खोज तथा उद्धार कार्य अघि बढाइएको थियो । जिल्लामा सबैभन्दा बढी क्षतिको भएको दक्षिणपहाडी भेगबाट आइतबारदेखि खोज तथा उद्धार कार्य अघि बढाइएको पनि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो । बेपत्ता भएका व्यक्तिहरूको खोजी पनि जारी राखेको पनि प्रजिअ श्रेष्ठको भनाइ थियो । बाढी र पहिरोमा परी हालसम्म ८ जना बेपत्ता भएका छन् ।

कार्यालयका अनुसार गोदावरी नगरपालिका–६, आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, वागमती गाउँपालिका–१, घुसेलका ५० वर्षीय केशव न्यौपाने, महांकाल–२ की १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र छविलालकी भाउजू बेपत्ता छन् ।