दयनीय ललितपुर महानगर : हजार घरटहरा हिलाम्य, ६० घर पहिरोको जोखिममा

२४ वटा वडामा बाढी र पहिरोको असर

658
Shares

–आ–आफ्नै वडामा बढी क्षति भएको वडा अध्यक्षहरूको दाबी
–हात्तीवनका ७४ रूख काट्नुपर्ने
–वडालाई सबै अधिकार दिएको महानगरको भनाइ

ललितपुर ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सहरी जनजीवनमा ललितपुर महानगरपालिका सबैभन्दा क्षति भएको छ। महानगरको २४ वडामा करिब १ हजार बढी घर हिलाम्य भएका छन्। २९ वडामध्ये २४ वटा वडामा बाढी र पहिरोले गम्भीर क्षति पुर्‍याएको छ।

महानगरका अधिकांश वडाअध्यक्षले आफ्नो वडामा सबैभन्दा बढी क्षति भएको बताएका छन्। महानगरको हात्तीवन, धापाखेल, नख्खुखोला करिडोर, नागदह, ललितपुर–१८ को दक्षिणपाखा, मेडिसिटी–१३ को सनराइज कोलोनीलगायतका क्षेत्रमा करोडौं रुपियाँ बढी क्षति भएको छ।

हालसम्म क्षतिको तथ्यांक सार्वजनिक नभए पनि सयौं जना घरबारविहीन भएका छन् । ललितपुर महानगरका उपप्रमुख मञ्लजी शाक्यले प्रारम्भिक तथ्यांक आउँन बाँकी भए पनि सयौं घर हिलाम्य भएको जानकारी दिनुभयो । दर्जनौं घर पहिरोको जोखिममा रहेका छन् ।

ललितपुर महानगर–१८ का वडाध्यक्ष दामोदर खड्काले बाढी र पहिरोका कारण वडाका धैरै क्षेत्रमा डुबान भएको बताउनुभयो। उहाँका अनुसार सो वडाको मेडिसिटी, आदिनाथ मार्ग, एचडीसीएच, चितवन कोइ, सक्षम बस्ती, घुमाउने मार्गका सयौं घरमा क्षति पुगेको छ । उहाँले करिब दुई तलासम्म पानी जमेका दर्जनौं घरमा माटो निकाल्ने काम भइरहेको बताउनुभयो । वडा सदस्य गोपाल डंगोलले मरेका चौपायाले दुर्गन्धित बनाउन थालेको बताउनुभयो ।

‘चार दिनयता माटो पन्छाउने काम गरेका गर्‍यै छौं हालसम्म सकिएको छैन’ –वडा सदस्य डंगोलले भन्नुभयो । सो वडाको दक्षिण पाखाका झन्डै दर्जन बढी स्थानमा पहिरो गएको छ । पहिरोका कारण दर्जन बढी घर जोखिममा छन्।

२५ वडा सबैभन्दा प्रभावित भएको अध्यक्ष दौलत खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नख्खु करिडोरको अवस्था हेर्दा कहालीलाग्दो छ । करिडोर नजिक घरटहरा बनाएर बस्नेको बिचल्ली भएको छ। उनीहरूले खान पाएका छैनन् । बस्ने ठाउँको अभाव भएको छ । टहरामा बंगुर, सुंगुर, हाँस, कुखुरालगायत चौपाया पालेर बस्नेको सबै चौपाया बगाएका छन् । उहाँले सबैसँग आर्थिक सहयोग मागेर उद्धार जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बल्ल जोडर लगाएर बाटो खोल्ने प्रयास जारी राखेका छौं, हिलाम्य घरको माटो निकाल्न थालेका छौं ।’

त्यस्तै, समस्या वडा नम्बर २३ को छ । २३ का अध्यक्ष जीवन महर्जनले आफ्नो वडामा करिब ३ सय बढी घर हिलाम्य भएको बताउनुभयो । आधा दर्जन विद्यालय डुबेका छन् । हात्तीवनमा पहिरो गएका कारण त्यसक्षेत्रको अवस्था दयनीय छ । हात्तीवन किराँतीहरूको मुख्य धार्मिक स्थल हो । हात्तीवनको त्रास अहिले पनि छ, जुनसुकै बेला रूख ढल्न सक्ने अवस्था छ । ७४ वटा रूख नकाटे त्यस क्षेत्रमा ठूलो दुर्घटना हुन सक्ने भन्दै वडाले रूख काट्ने प्रक्रिया अघि बढाएको छ । अध्यक्ष महर्जनले २९ मध्ये आफ्नोे वडा सबैभन्दा क्षति भएको वडा रहेको जानकारी दिनुभयो ।

सबै वडा अध्यक्षले तुलनात्मक रूपमा सहयोग गर्न नसकेको स्वीकार गरेका छन् । कमजोर स्रोतसाधनका कारण उद्धार गर्न कठिन भइरहेको छ । महानगरले स्रोत उपलब्ध गराएको भए धेरै उद्धार भइसक्ने थियो, हालसम्म खासै सहयोग नगरेका कारण उद्धार गर्न कठिन बनिरहेको अधिकांश अध्यक्षको गुनासो छ ।

‘महानगरका नगर प्रहरीले खासै सहयोग गरेको छैन, प्राथमिक सहयोग गर्नसमेत प्रहरीले चासो देखाएको छैन’–एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रसँग भने । ललितपुर वडा–११ का अध्यक्ष अरोजकुमार खड्गीले आफ्नै स्रोत र साधन प्रयोग गरी उद्धार जारी राखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेरो वडामा करिब एक करोड बढी क्षति भएको छ । वागमतीले यूएनपार्कको सबै पर्खाल भत्काएको छ । घाट नजिकको संरचना र शंख राखेको पार्क ध्वस्त भएको छ । उहाँले दर्जनौंको घर, व्यवसायमा पानी पसेर करोडौं रुपियाँ क्षति गरेको बताउनुभयो ।

वडा नं–१३ का अध्यक्ष गणेश केसीले आफ्नो वडामा सबैभन्दा बढी क्षति भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘दिव्यश्वरी टोल र सनराइज अपार्टमेन्ट र त्यस क्षेत्रमा लाखौं रुपियाँ बराबरको क्षति भएको छ । उहाँले दैनिक ३ वटा डोजरको साथमा उद्धारको काम जारी राखेको बताउनुभयो । २१ का अध्यक्ष रविन्द्र महर्जनले वागमती नदी किरारामा बसोबास गर्ने केही परिवार विस्थापित हुनु परेको बताउनुभयो । ‘केही बाटो र खेतीमा क्षति पुगेको छ, बाटो मर्मत जारी राखेका छौं’ –उहाँले भन्नुभयो ।

महानगरको ५, ६, १२, १६, १९, २० बाहेक सबै वडामा बाढीले क्षति पु¥याएको छ । २४ नम्बर धापाखेल क्षेत्रमा व्यापक क्षति पुगेको छ । दर्जनांै घरमा पहिरोको जोखिम छ । बाटो पुरिएको छ । पहिरोले केही घरमा क्षति पु¥याएको छ । महानगरको २४ नम्बर वडा धापाखेल र नागदह पर्छन् । सो क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ ।

प्रवक्ता महर्जनले कार्यपालिका बैठकले तत्काल उद्धार गर्न सबै वडा अध्यक्षलाई निर्देशन दिएको जानकारी दिनुभयो । ‘सबै वडा अध्यक्ष उद्धार र राहत वितरणमा लागिसक्नुभएको छ । केही भयो भने तत्काल विपद् व्यवस्थापन समितिलाई जानकारी दिन आग्रह गरिसकेका छौं’ –उहाँको भनाइ थियो ।

बाढीले तहसनहस पारेका बस्तीमा खानेपानीको अभाव भएको छ, स्थानीय बिरामी हुन थालेका छन् । दुर्गन्धको कारण बस्ने नसक्ने अवस्था छ । उपप्रमुख शाक्यले उद्धार गर्ने सबै अधिकार वडाअध्यक्षलाई दिएको बताउनुभयो । ‘ठूला योजना भए कार्यपालिकाले निर्णय गर्नेछ, बाँकी कामका लागि वडाबाटै बजेटको व्यवस्था गर्न आग्रह गरेका छौं’ –शाक्यको भनाइ थियो ।

घरघरमा स्वास्थ्यकर्मी

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बाढीपहिरो पीडित जनतालाई आजबाट घरघरमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको बताउनुभएको छ। बाढीका कारण पीडितहरू बिरामी पर्न थालेपछि महानगरले त्यस्तो व्यवस्था गर्न लागेको हो।
प्रवक्ता महर्जनले आजबाट वडाका चिकित्सक, स्वास्थ्य स्वयंसेविकालगायत परिचालन गरी स्वास्थ्य परीक्षण गर्ने र बिरामी परे तत्काल भर्ना गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो।

महानगरले पानी शुद्ध पार्न पीयूषको प्रयोग गर्ने, निःशुल्क पीयूष वितरण गर्ने गरी तयारी भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘बाढीपहिरो पीडित बिरामी भए तत्काल खबर गर्नुस् हामीले तत्काल उपचार गर्नेछौं।’ पानीले डुबेका घरमा मरेको चौपायाको गन्ध आएको गुनासो आएपछि महानगरले आजैबाट टोलटोलमा ब्लिचिङ पाउडर छर्ने भएको छ।

‘ठूलो विपत्ति आएकाले केही गुनासो आएका छन्। सबैलाई कुनै पनि कमजोरी हुन नदिन वडालाई आग्रह गरेका छौं’ –प्रवक्ता महर्जनले भन्नुभयो।