बाढी पहिरोबाट २० अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान


काठमाडौं ।

अघिल्लो साता परेको भीषण वर्षापछिको बाढी पहिरोका कारण देशभर २० अर्ब रुपियाँभन्दा बढीको  क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। 

सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको हुँदा वास्तविक तथ्याङ्क त्यो भन्दा अझै बढ्न सक्ने जनाइएको छ। हालसम्म प्राप्त तथ्यांकअनुसार कृषि क्षेत्रमा मात्रै ६ अर्बभन्दा बढीको क्षति पुगेको अनुमान छ। बाढीले ५८ हजार ४७६ हेक्टरमा लगाइएको ३ अर्ब ५० करोड बराबरको धान बाली नष्ट  भएको छ । त्यस्तै २६ हजारभन्दा बढी  पशुपन्छीमा मरेको तथ्याङ्क छ। 

बाढीले खानेपानी पूर्वाधारमा साढे  ३ अर्ब ५५ करोड, सडक पूर्वाधारमा साढे ३ अर्ब, ऊर्जातर्फ ४ अर्ब र जलस्रोत तथा सिँचाइतर्फ डेढ अर्ब  बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग र ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

सडक विभागअन्तर्गतका झन्डै २२ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । बाढीले पुलतर्फ १ अर्ब र तटबन्धमा करिब डेढ अर्ब बराबरको क्षति पुगेको छ । सरकारको तथ्याङ्कमा आएका पूर्वाधारको प्रारम्भिक विवरण मात्रै  हो। नागरिकको धनमालको क्षतिको विवरण आउन समय लाग्ने सरकारले जनाएको छ।