विश्वका सर्वाधिक सफल सात स्टक टाइकुन यस्तो छ, लगानी गर्ने शैली र रणनीति


विश्वमा केही यस्ता व्यक्ति छन्, जसको लगानीलाई विश्व बजारले अध्ययन गरिरहेको हुन्छ। लगानी गर्ने आफ्नै शैली र रणनीति हुन्छ। आफ्नो असाधारण रणनीतिक सोच र वित्तीय कौशलका कारण उनीहरू सफल भएका छन्। उनीहरूको लगानी रणनीतिले शेयर बजारमा समेत ठूलो प्रभाव पार्दै आएको छ।


लगानी रणनीतिका विविधीकरणमध्ये कसैले बजार, आर्थिक सिद्धान्त र व्यावसायिक क्षेत्रमा आधारित विश्लेषण प्रस्तुत गर्छन्। केही मूल्य लगानीमा ध्यान दिन्छन् भने केही नयाँ प्रविधिमा, केही जोखिमयुक्त बजारमा सट्टेबाजी गरेर सफलता प्राप्त गर्छन्। यी रणनीतिबाट सिकेर व्यक्तिगत लगानीकर्ताले लगानी योजना विकास गर्न सक्छन्। यहाँ केही चर्चित शेयर टाइकुन र उनीहरूको प्रमुख लगानी रणनीतिबारे चर्चा गरिएको छ।

वारेन बफेट
कम्पनी: बर्कसायर हाथवे
भ्यालु इन्भेस्टिङमा आधारित रहेर उनले दीर्घकालीन दृष्टिकोणमा लगानी गर्ने गरेका छन्। उनले कम्पनीको आधारभूत विश्लेषण गर्नुका साथै बजार मूल्यभन्दा कमका कम्पनी खोजी गर्छन्। उनले स्थिर व्यावसायिक मोडल भएका, बलियो ब्रान्ड र नेतृत्व भएको कम्पनीमा लगानी गर्छन्। दीर्घकालीन लगानीमा विश्वास राख्ने बफेट सानो मूल्य उतार–चढावको प्रवाह नगरी कम्पनीको वास्तविक मूल्य पहिचान गर्न ध्यान दिन्छन्।

एलन मस्क
कम्पनी: टेस्ला, स्पेसएक्स
नवीन प्रविधि र बजार परिवर्तनमा उनले लगानी गर्ने गरेका छन्। उनको लगानीको मूल आधार भनेको परम्परागत उद्योगलाई बदलेर नयाँ र अग्रगामी प्रविधिको प्रयोग गर्नु हो। उनले शेयर बजारमा आफ्नो प्रभाव प्रयोग गरेर धेरै कम्पनीलाई अगाडि बढाएका छन्। मस्कको नेतृत्वमा टेस्लाले शेयर बजारमा उचाइ पाएको छ, जहाँ नवप्रवर्तन र दीर्घकालीन सोचको बलमा उनले ठूला कम्पनीलाई पछाडि पारेका छन्।

जेफ बेजोस
कम्पनी : अमेजन
दीर्घकालीन दृष्टिकोण राख्दै बजार विस्तारमा उनले ई–कमर्स, क्लाउड कम्प्युटिङ र डिजिटल सेवा क्षेत्रमा लगानी गरेका छन्। बेजोसको रणनीति दीर्घकालीन लगानीमा आधारित छ, जहाँ उनले सुरुआती नाफामा नभई कम्पनीको बढ्दो बजार हिस्सामा ध्यान दिएका छन्।

कथी वुड
कम्पनी: एआरके इन्भेष्ट
भविष्यका प्रविधिहरूमा लगानी गर्ने उनको रणनीति रहेको हुन्छ। वुडले जोखिम लिने, तर नवप्रवर्तनात्मक क्षेत्रमा ठूलो फाइदा हुने सम्भावना देख्ने रणनीति अपनाउँछिन्। उनले अल्पकालीन बजार उतारचढावको प्रवाह नगरी दीर्घकालीन प्रविधिमा आधारित परिवर्तनका लागि लगानी अवसर पहिचान गर्छिन्, जसले भविष्यमा ठूलो लाभ दिन सक्छ।

रे डालियो
कम्पनी: ब्रिजवाटर एसोसिएट्स
उनी विविधीकरण र आर्थिक चक्रको विश्लेषणमा विशेष ध्यान दिने गर्छन्। उनको प्रमुख लगानी सिद्धान्त भनेको कुनै एक क्षेत्रमा मात्र लगानी नगरी विभिन्न बजार र वर्गमा जोखिम फैलाउनु हो। उनी विश्वभरका आर्थिक र राजनीतिक परिदृश्यलाई ध्यानमा राखेर भविष्यका आर्थिक सम्भावना विश्लेषण गर्छन्।

लि का–सिंग
कम्पनी: चुङ कङ होल्ङिग्स, हचिसन वाम्पोआ
जोखिमयुक्त क्षेत्रमा अवसर पत्ता लगाउने उनको विशेषता छ। उनको रणनीति भनेको जोखिमपूर्ण तर उच्च प्रतिफल दिने क्षेत्रमा अवसर पहिचान गर्नु हो। उनी सम्भावित जोखिमलाई विश्लेषण गरेर विभिन्न उद्योगमा ठूलो हिस्सा ओगट्न सफल भएका छन्। उनको लगानी रणनीति सन्तुलित र बजारको आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्मको नाफामा केन्द्रित हुन्छ।

जर्ज सोरोस
कम्पनी: सोरोस फन्ड म्यानेजमेन्ट
उच्च जोखिमयुक्त सट्टेबाजीमा रमाउने सोरोसले बजारमा अत्यन्त जोखिमपूर्ण लगानी रणनीति अपनाएका छन्, जुन उच्च जोखिमसहित उच्च प्रतिफलको सम्भावनामा आधारित हुन्छ। उनी मुख्यतया मुद्रा बजार, ब्याजदर र सरकारी ऋणपत्रमा सट्टेबाजी गर्ने गर्छन्। सोरोसको ‘ब्यालन्स अफ पेमेन्ट्स क्राइसिस’ जस्ता घटनालाई सही पहिचान गरेर ठूलो नाफा कमाउने रणनीति प्रख्यात छ। उनले सन् १९९२ मा बेलायतको पाउण्ड स्टर्लिङमा लगानी गरेर ठूलो फाइदा कमाएका थिए, जसले उनी बैंक अफ इंग्ल्याण्डलाई हराउने मानिसका रूपमा चर्चित भए।