त्रिभुवन विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड


काठमाडौं ।

बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि हवाई यात्रामा चाप बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन्।

आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन्।

यसबाट १५ हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान हो । सामान्यतया अघिल्लो वर्षहरूका दसैँका बेला यस्तो उडान चाप हुने गर्थ्याे। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए।

अन्तर्राष्ट्रियमा दैनिक ११० देखि१५ उडान भएको थियो भने आन्तरिकतर्फ २७० उडान भएका थिए । आज मंगलबारका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल तालिका रहेको छ।