वर्तमान समयमा हाम्रो देश नेपालका पहाडी क्षेत्रका सबैजसो गाउँहरु युवाविहीन बन्न पुगेका छन् । धेरैजसो युवा आफू विवाहित भएपछि आफ्नो परिवारलाई शहरमा भाडाको घरमा बसाई सन्तानको उचित शिक्षादीक्षाको लागि ध्यान दिन लगाएर विदेश पसेका छन् । कैयौँ युवा अविवाहित अवस्थामा नै विदेशिएका र उतै मिल्दो जोडीका साथ विवाहबन्धनमा बाँधिएका छन् । यसरी युवा जनशक्ति विदेशिएको घटनाले गर्दा स्वदेशमै रहेका किशोरहरुको मानसिकतामा पनि विदेशमोहको बिरुवा पलाउन थालेको छ । यसले गर्दा एघार–बाह्र कक्षा सिध्याउन नभ्याउँदै विदेशिने चलन बढ्दो छ।
विदेशिएका युवाले उतै घरजम गरेर बस्न थालेपछि स्वदेशमा भित्रिनुपर्ने रेमिट्यान्सको मात्रा पनि क्रमशः घटेर जाने सम्भावना छ । तर नेपाल सरकारले नेपाली युवावर्गको विदेश गमनलाई रोक्न कुनै प्रकारको प्रभावकारी पहलकदमी बढाउन सकेको छैन । बरु पहलकदमी बढाउनुको साटो आम नेपाली युवावर्ग विदेश गइदिए र आफ्ना विरुद्धमा वा आफूले चलाएको कुशासनको विरुद्धमा नगए हुन्थ्यो र आफूले मनपरि गर्न पाइन्थ्यो भन्ने आत्मिक विचार बोकेर शासक वर्ग बाँच्दै छन् । बुढेसकालमा आफू एक्लै बाँच्नुपर्ने र सहारा कोही नपाइएला भन्ने मानसिक तनावमा रहेका हरेक अभिभावकले आफ्ना सन्तानलाई मनले नमानेरै पनि विदेश पठाउन खर्चको जोहो गर्न बाध्य हुनुपरेको छ । आफ्ना सन्तानलाई केवल गाउँमा बलजफत रोकेर राख्न सक्ने अवस्था पनि छैन । सन्तानको भविष्य, आफ्नो चरम गरिबीले गर्दा सन्तानलाई विदेश पठाउन हरेक अभिभावक बाध्य भएका छन् ।
ग्रामीण क्षेत्रका हरेक युवा गाउँमा बस्न किन मन पराउँदैनन् ? भन्ने प्रश्नको पहिलो जवाफ गाउँमा उचित रोजगारी त परैको कुरो, बिरामी परेका बेला उपचार गर्ने खर्चसमेत अभाव भएर अरु कोहीसँग हात फैलाउन बाध्य बन्नुपर्छ । सामान्य उपचार र थोरै खर्चले पुग्ने भए हात पसारेर पनि काम चलाउन सकिएला, तथापि जटिल उपचार र अधिक खर्च लाग्ने रहेछ भने थला परेर ओछ्यानमा नै मर्नुपर्ने अवस्था आउन बेर लाग्दैन । दोस्रो कुरा, आफूसँगैका साथीभाइ विदेश गएर वा शहर पसेर धन कमाएका तर आफू भने गरिबीकै दलदलमा फसिराखेको अवस्थाले गर्दा गाउँमै बस्छु भनी बलियो मानसिकता बनाएका युवाको पनि मन विचलित हुन पुग्छ । अझ सँगैको साथीले विदेश गएर आफ्ना सन्तानलाई निजी र महँगा स्कुल–कलेजमा पढाएको, करोडको सम्पत्ति जोडेको भन्नेजस्ता कुराले कोही पनि गाउँले युवाको मन विचलित नभई रहन सक्दैन । गाउँमा बसेर आधुनिक तरिकाले खेतीपाती गर्दाको अवस्थामा कतिपयलाई वर्षभर आफ्नो परिवारलाई खान पुग्ने अन्न उब्जा होला तर धेरैको यो अवस्था पनि छैन। केवल खाएर र बाँचेर मात्र आजको पुस्ताको मान्छे सन्तुष्ट हुनेवाला पनि पटक्कै छैन ।
पहाडी क्षेत्रमा गरिने परम्परागत कृषि केवल जीवन धान्ने बाटो मात्र हुन्छ । साँच्चै भन्ने हो भने परम्परागत कृषिकर्ममा आफूले लगानी गरेको खर्चसमेत उठ्न गाह्रो हुन्छ । त्यसमाथि पनि कृषिमलको अभाव, प्राविधिक जनशक्तिको पहुँचको अभाव, दुःख र कठिनाइ बेहोरेर उत्पादन गरिएको बालीले उचित बजार मूल्य हासिल गर्न नसक्नुजस्ता कठिनाइ भोग्नुपर्ने हुन्छ । यसले युवा मानसिकता यति धेरै दिक्दार बन्छ कि बरु यो ठाउँमा यति धेरै दुःख गर्नुको साटो शहर पस्दा वा विदेश जाँदा एकोहोरो काम गर्न पनि पाइने अनि गाउँको तुलनामा कमाइ पनि राम्रो हुने विश्वासका साथ विदेश जान्छन् लाखौँ नेपाली युवाहरु ।
ग्रामीण क्षेत्रका युवाले गर्न सक्ने र एउटा सही विकल्पका रुपमा पशुपालन व्यवसाय हो । तर दुःख गरेर पशुपालन व्यवसाय अपनाए पनि बजारको अवस्था असहज भएका कारण फस्टाउने सम्भावना न्यून नै देखिन्छ । कुनै युवाले आफ्नै गाउँमा बाख्रा पालन व्यवसाय सञ्चालन गरेको छ भने हिउँद महिनाभर पालेर वर्षा लागेपछि बेच्छु भन्दा बेच्न सक्ने अवस्था हुँदैन । किनभने बाख्रा बेच्ने भर पर्दो बजार सुविधा छैन । अचानक कसैले रहरले यस्ता व्यवसाय अपनाएर विदेश जान नखोज्ने भन्ने सोच बनाएको भए पनि ऊ आफैँमा असफल हुन पुग्छ । दुग्धजन्य पदार्थको उत्पादन बढाएर रोजगारी सिर्जना गर्न खोज्ने युवालाई पनि उचित मात्रामा बजारको अभाव हुन्छ नै । हिउँद महिनामा पालिएका बाख्रा वर्षामासको पानीले भिजेर मर्लान् र आफूलाई घाटा लाग्ला भन्ने सोचाइले सताउन थाल्छ । यो सोचाइ यथार्थ सोचाइ पनि हो । गाई, भैसी पालेर दूध बेच्ने काम पनि त्यति सम्भव हुँदैन । आजको युवावर्गले हाम्रो पुरानो पुस्ताका बुबा तथा हजुरबुबाले जति मात्रामा शारीरिक श्रम गर्न सक्ने क्षमता थियो त्यति क्षमता देखाउन सक्ने अवस्था छैन । त्यति क्षमता नदेखाई ढुङ्गामाटोसँग लाप्पा नखेलेर अनाज उब्जा गर्न सकिँदैन । अनाज उब्जा गर्नको लागि केवल रासायनिक मलको भर परेर हुँदैन । अधिक मात्रामा कम्पोस्ट मलको प्रयोग गरेर थोरै मात्रामा मात्र रासायनिक मलको प्रयोग गर्नुपर्ने हुन्छ । नत्र रासायनिक मलको अधिक प्रयोग मात्र गर्दै जाने हो भने रासायनिक मल उपयोग गर्न थालेको केही वर्षमा नै माटोको अमिलोपना बढेर जानुका साथै कडा र रुखो बन्दै जान्छ अनि केही वर्षमै मरुभूमिजस्तो बन्न पुग्छ । अन्नको भण्डार भनेर चिनिने हाम्रो देशको पूर्वी तराईको माटोमा अधिक रासायनिक मल उपयोगका कारण माटोको अम्लीयपन बढ्नाले मरुभूमिमा परिणत हुँदै छ ।
हाम्रो पूर्वी तराईको माटोमा फलेको धान विदेशतिर समेत निर्यात हुने गरेको थियो । अहिले आएर तराईमा फलेको धान विदेश निर्यात गर्नु त कता हो कता, विदेशबाट धान, चामल नेपालमा आयात गर्न पाइएन भने आम नेपाली भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यो कुरा नेपाल सरकारलाई राम्रैसँग अवगत भएको भए तापनि नेपली युवालाई विदेश जानबाट रोकेर स्वदेशमै बस्न सक्ने र युवाले चाहेअनुसारको वातावरण सिर्जना गर्न सकिरहेको छैन भन्दा कुनै अत्युक्ति नहोला । खेतबारीमा रासायनिक मल प्रयोग गर्नुपर्ने बेलामा रासायनिक मलको हाहाकार भएको हुन्छ । दिनभर लाइन बसेर भए पनि सय वा डेढ सय किलो मलको आवश्यकता भएको युवाले केवल चार–पाँच किलो मलमा चित्त बुझाउन बाध्य हुनुपर्छ ।
पुराना पुस्ताका अभिभावको अभाव भएपछिका दिनमा सरकारी कार्यालयबाट सम्पन्न हुनुपर्ने कुनै कामको दायित्व लिएर कुनै पनि सरकारी कार्यालयमा पुगेको युवाले ती सरकारी कार्यालयको कामको तरिका हेर्छ र मानसिकरुपमा ऊ दिक्दार बन्छ। पाँच मिनेटमा सम्पन्न हुने कुनै कामलाई पाँच घण्टा र कहिले पाँच दिन लम्ब्याउने र अन्त्यमा काम सम्पन्न नभई फेरि अर्को दिनलाई साँचेर फर्कनुपर्ने अनि अर्को दिन, अर्को दिन धाएर बल्लतल्ल काम सम्पन्न गर्नुपर्ने सरकारी कामको रवैया हेरेर दिक्दार मानसिकता बोकेको युवा जतिसक्दो छिटो विदेश जान वा गाउँ छोडेर शहर पस्न उद्यत् हुन्छ। कम्तीमा विदेश गएको खण्डमा एक लगनी काम गर्दा पैसा पनि कमाइयो, दिक्दार पनि हुनुपरेन भन्ने मानसिकतामा पासपोर्ट र भिसाको क्रममा लाग्न थाल्छ।
कैयौँ नेपाली युवाले राजनीतिक परिवर्तन र सुधारको अपेक्षा राखेर विभिन्न कालखण्डमा भएका आन्दोलनमा भाग लिई परिवर्तनका लागि अहं भूमिका खेलेका थिए, जसका कारणले गर्दा ठूला राजनीतिक परिवर्तन नभएका होइनन् । राजनीतिक परिवर्तन भए पनि उनीहरुले अपेक्षा गरेअनुसार राजनीतिक र शासकीय सुधार हुने छाँट देखा परेन। उही र उस्तै चाकडी, चाप्लुसी, भ्रष्टाचार, अनाचार, दुराचारजस्ता विकृतिले नेपलको राजनीतिलाई गाँजिरहेको छ।
आफूसँगैका साथीभाइ विदेश गएर वा शहर पसेर धन कमाएका तर आफू भने गरिबीकै दलदलमा फसिराखेको अवस्थाले गर्दा गाउँमै बस्छु भनी बलियो मानसिकता बनाएका युवाको पनि मन विचलित हुन पुग्छ । अझ सँगैको साथीले विदेश गएर आफ्ना सन्तानलाई निजी र महँगा स्कुल–कलेजमा पढाएको, करोडको सम्पत्ति जोडेको भन्नेजस्ता कुराले कोही पनि गाउँले युवाको मन विचलित नभई रहन सक्दैन ।
राजनीतिको यो असफलतापछिका दिनमा आम नेपाली युवाको मानसमा यति धेरै दिक्दारी थपियो कि भनेर साध्यै हुँदैन । यो राजनीतिक दिक्दारीले गर्दा र आफ्ना असफल नेताको चाकरी गर्नुपर्दा धेरै युवामा यो घृणित काम हो जस्तो लाग्यो । त्यसपछि उनीहरु गाउँ छोड्न हतारिए । आम युवामध्ये जसले नेताको चाकडी गर्दा गर्व महसुस गर्छ, त्यसैमा आत्मसन्तुष्टि राख्दछ । त्यस्तो युवा मात्र गाउँमै रमाउन सक्यो भने अरु सबै युवा गाउँ छोडेर हिँड्न हतारिए । आज पनि गाउँमै बसेका थोरै युवाहरु पनि आफू कुहिएर गाउँमा नै बसेको, कुनै पुरुषार्थका काम गर्न नसकेको र एउटा असफल जीवन बिताउँदै गरेको अनुभवमा ज्यादै हीनताको भावना बोकेर बाँचिरहेका छन् । अझ राजनीतिमा छिरेर चाकडी–चाप्लुसी गरेर अथाह सम्पत्ति जोड्ने युवाले बेलामौकामा गाउँमा निस्केर लडाएका गफले ती गाउँले युवालाई आफ्नो मर्ममा प्रहार गरेको जस्तो लाग्छ । यसले उनीहरुका मानसको हीनताको भावना अझै बढेर जाने गर्दछ ।
यसरी विभिन्न कारणमध्ये जुनसुकै कारणले भए पनि हरेकजसो गाउँले युवावर्ग कि त शहर पस्न खोज्छ, कि त विदेश जान खोज्छ । युवाको यो मानसिकतालाई हटाएर स्वदेशको माया गर्नुपर्छ, स्वदेशकै उन्नति र प्रगतिको लागि हरेक कर्म गरिनुपर्छ भन्ने सन्देश दिनुपर्छ । मूलरुपमा युवाको भावनामा यसलाई भर्ने हो भने स्वदेशमै रोजगारीका विभिन्न अवसर सिर्जना गर्न सकिन्छ । आम नेपाली युवालाई विदेश जानबाट कसैले पनि बलजफत रोक्नुपर्ने दिन आउँदैन । उनीहरु आफैंभित्रबाट कर्तव्यबोध महसुस भएर आउनेछ । तर यसका लागि सरकारले कुनै निश्चित योजना बनाएर हरेक वर्ष वा हरेक महिना यति नेपाली युवालाई रोजगारी सिर्जना गरेर दिने भन्ने योजना बनाउनु आवश्यक छ । हुन त विगतमा यस्ता योजना धेरैपटक अनि धेरै खालका नबनेका होइनन् तर केवल कार्यान्वयन नहुने केवल कागजी योजनाले माखोसमेत मार्न सक्दैन भन्ने कुरा धेरै नेपालीलाई पनि अवगत नै छ । आम नेपालीको चाहनाचाहिँ के छ भने, खेतबारी बाँझै राखेर विदेशतिर दौडन खोज्ने युवालाई आफ्नै खेतबारीमा कर्म गराएर हराभरा बनाउन सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताबाट मुक्त गराउन सकिन्थ्यो ।
प्रतिक्रिया