कैलालीमा मोटरसाइकल आपसमा ठोकिँदा २ जनाको मृत्यु


धनगढी ।

कैलालीमा मोटरसाइकल दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका-१ सोमबार राति ९ बजेतिर दुई मोटरसाइकल एक आपसमा ठोकिँदा कैलालीको जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो।

चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।