–गृहका सहसचिवको नेतृत्वमा तत्काल अनुगमन टोलीहरू पठाइने
–विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाइने
–नेपाली सेनाको सहयोगमा आवश्यक स्थानमा बेलीब्रिज राख्ने
–पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने
–विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरू फैलन नदिने
–सचिवहरूले पाँच दिनको तलब दिने
काठमाडौं ।
मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले विपद् व्यवस्थापन सम्बन्धमा विभिन्न १४ वटा निर्णय गरेको छ। मुख्य सचिव अर्यालले आकस्मिक सचिव बैठक राखेर विपद् व्यवस्थापनमा प्रशासनिक सक्रियतालाई गति दिनुभएको हो।
सचिव बैठकले गृह मन्त्रालयको समन्वयमा तत्काल खोज, उद्धार र राहत उपलब्ध गराउने कार्यलाई तदारुकता दिने निर्णय गरेको छ । यसै गरी बाटोमा अलपत्र परेका यात्रुलाई तत्काल गन्तव्य पुर्याउन आवश्यक व्यवस्था भौतिक मन्त्रालय र गृह मन्त्रालयको आपसी समन्वयमा सम्पन्न गर्ने निर्णयसमेत सचिव बैठकले गरेको छ।
यसै गरी सचिव बैठकले स्वास्थ्य मन्त्रालयले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, विपद् प्रभावित क्षेत्रमा हैजा, डेंगीजस्ता रोगहरू फैलन नदिने, बाढीपहिरोका कारण अवरुद्ध सबै राजमार्गहरू तत्काल खुलाउने, नेपाली सेनाको सहयोगमा आवश्यक स्थानमा बेलीब्रिज राख्ने, भौतिक मन्त्रालयले बीपी राजमार्ग सञ्चालनमा नआउँदासम्म वैकल्पिक रुट पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्ने, पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउने, विपद् प्रभावित क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउने, अवरुद्ध भएका सबै सेवाहरू तत्काल सम्बन्धित निकायले चालू गराउनेलगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
बाढी पहिरो तथा डुबानका कारण विस्थापित भएका वा घरबारविहीन भएका परिवारको लागि अस्थायी आवास निर्माण तथा खाद्यान्नको व्यवस्था गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा प्रभावित प्रदेश तथा स्थानीय तहहरूमार्फत् राहत रकम उपलब्ध गराउने, त्यसका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गरिदिने, बाढी प्रभावित क्षेत्रमा तत्काल विद्युत् आपूर्तिको व्यवस्थापन विद्युत् प्राधिकरणले गर्नेलगायतका निर्णयसमेत सचिव बैठकले गरेको छ।
यसै गरी तत्काल राहत उद्धारलगायतका सन्दर्भमा प्रदेश र स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी स्थलगत टोलीहरू बनाई बढी क्षति देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीलगायतका जिल्लामा तत्काल पठाउने निर्णयसमेत सचिव बैठकले गरेको छ।
साथै, सचिव बैठकले पीडित घरपरिवारलाई राहतका लागि सचिवहरूको पाँच दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। बैठकमा मुख्य सचिव अर्यालले विपद् व्यवस्थापनमा सम्बन्धित मन्त्रालय र मातहतका निकायले आआफ्नो जिम्मेवारीअनुसार काम गरेर परिणाम देखाउन निर्देशन दिनुभएको थियो।
प्रतिक्रिया