गुल्मीका ६ जना झ्याप्ले खोलामा अस्ताए

2.91k
Shares

बुटवल ।

धादिङको झ्याप्लेखोलामा पहिरोले बस पुर्दा ६ जना गुल्मीका नागरिक परेका छन्। ती ६ जनामध्ये एक जोडी नवविवाहित दम्पत्ती परेका छन्।

विवाह गरेको दुई महिना पनि भएको थिएन । नियतिको बज्रपात विवाहको दुई महिना पनि नपुग्दै गुल्मीका एक दम्पत्तीको वैवाहिक सम्बन्ध वियोगमा परिणत हुन पुग्यो।

बुटवलबाट हिँडेको लु१ज ४५७८ नम्बरको माइक्रोबस पहिरोले पुरिँदा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदह चामगाउँका ३४ वर्षीय प्रकाश कुँवर, उनकी नवविवाहित श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवरसहित एकै परिवारका तिन जनाको मृत्यु भएको हो।

उनीहरूको मृत्यु भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी शंंकर पोखरेलले बताउनुभयो । कोरियामा काम गरेर फर्किएका प्रकाश कुँवर र अनु कुँवरको विवाह भएको एक महिना भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जानकारी दिएको छ।

मृतकका भाइ सुरेन्द्र कुँवरले गत साउन २७ गते विवाह भएको, नागरिकता, विवाह दर्तासहित नागरिकता बनाउन मदाने गाउँपालिका–६ पुर्कोटदह आएर फर्किने क्रममा दुखद् घटना घटेको बताउनुभयो। त्यस दुर्घटनामा यता गुल्मीदरबार गाउँपालिका–७ लामडाँडाका पनि एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन्।

वडाध्यक्ष शालिकराम टण्डनका अनुसार ६३ वर्षीय जुद्धबहादर रायमाझी, उनकी बुहारी ३१ वर्षीया प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा कृसव रायामाझीको मृत्यु भएको हो। रायमाझी परिबार सुरुमा बुटवल बस्ने गरेको र हाल काठमाडौंको कीर्तिपुरमा बसोबास गर्ने गरेको बताइएको छ। मृतक प्रमिताका श्रीमान् विवेक रायमाझी कीर्तिपुरमा ग्यारेज खोलेर बस्नुहुन्छ। प्रमिता केही दिनअघि नागरिकता बनाउन भनी जिल्ला प्रशासन कार्यालय गुल्मी आएर फर्किनुभएको थियो।

यसैबीच रूपन्देहीमा शनिवारदेखि हराइरहेको दुध बोक्ने गाडी घाघरा खोलामा भेट्टिएको छ । मर्चवारबाट दूध बोकेर भैरहवातर्फ आईरहेको भे १ च २६७६ नम्बरको जिप शनिवार बिहानदेखि हराइरहेको थियो । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जिप फेला परेको बताउनुभयो ।

फेला परेको जिपलाई क्रेन मगाई निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । जिपका चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता रहेको राठौरले जानकारी दिनुभयो । हराइरहेका चालक र सह–चालकको खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।