आमासँगै झ्याप्ले खोलामा अस्ताए बुटवलका जुम्ल्याहा–दाजु बहिनी

42.86k
Shares

बुटवल ।

बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई र दीपिका भट्टराई पढाईमा उत्कृष्ट थिए ।

उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका गतिविधिहरुमा सहभागि हुन्थ्ये । अनलाइनबाट फर्म भरेर उनीहरूले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो ।

बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागीता रहने थियो । उनीहरू कक्षा १० अर्थात् एसईईको तयारी थिए । तर, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले विदा दियो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रो विङ्गरमा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटे र सोही माइक्रोमा काठमाडौँ जाँदै थिए । तर, लगातारको भिषण वर्षासँगै पहिरोले उनीहरु सवार विङ्गर धादिङको झ्याप्ले खोलामा पुरर्यो ।

१५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ पहिरोले पुर्यो, जसमा चालक समेत समावेश छन् । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो । दीपेश दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् ।

सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ । विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दीपेश र दीपिका रहेको बताउँछन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन ।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु१ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए । यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ ।