उदयपुर रेडक्रसको ३४ औँ सभा,  समाचारपत्रकर्मी पोखरेलसहित दुई पत्रकार सम्मानित

1.5k
Shares

उदयपुर ।

 नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला शाखाको ३४ औँ सभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यमा भएको ३४ औ सभा तथा अधिवेशनमा प्रमुख अतिथि दनुवारले नेपाल रेडक्रस सोसाइटी पवित्र सामाजिक संस्था भए पनि विवादका कारण संस्थाको गरिमा र छविमा आँच आएको सामाजिक संस्थामा कुनै पनि विवाद नगरी स्वच्छ र निष्पक्ष रुपले काम गर्नु पर्नेमा केन्द्रदेखि जिल्ला र पालिका स्तरसम्म पनि विवाद देखिएकोमा चिन्ता व्यक्त गरिन ।

कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य सम्झना पाख्रिनले रेडक्रसमा देखिएको विवादले केही समस्याहरु देखाएको र समस्या समाधान नहुँदासम्म सामाजिक काममा बाधा आइरहने हुँदा समस्या समाधानमा पहिले लाग्नु पर्ने बताइन ।  

नेपाल रेडत्रस सोसाइटी उदयपुरका सल्लाहकार समितिका संयोजक वीरेन्द्र कुमार बस्नेतले विगतको कार्यसमितिले रेडक्रसको कामलाई पारदर्सि रुपले गर्न नसकेको र सामाजिक काममा विवादमा आउने काम गरेर र अनेकौ अनियमित काम गरेर बदनाम भएको समयमा वर्तमान कार्य समितिले रेडक्रसको नीति र सिद्धान्त अनुसार राम्रो कामको थालनी गरेको बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले विगतमा भए गरेका गल्तीहरुलाई सुधार गर्दै लैजानु पर्ने र सामाजिक संस्थामा हुने अनियमितता क्षम्य नहुने भन्दै त्रियुगा नगरपालिकाले नगरपालिका भित्रका नागरिकहरुकालागि रक्त सञ्चार केन्द्रबाट (ब्लड बैंक) निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

उदयपुर रेडक्रसका सभापति मदन कुमार कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, जिल्ला वन पैदावार व्यवसायी संघका अध्यक्ष सुशिल सेढाई, आयुर्वेद औषधालयका मुकेश कुमार सिंह, श्री बहादुर खड्का, सुभाष विष्ट  लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रममा नेपाल समाचारपत्र उदयपुर संवाददाता माधव पोखरेल र निगरानी पोष्टका सम्पादक गजेन्द्र राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

सम्मानका क्रममा सल्लाहकार समितिका संयोजक वीरेन्द्रकुमार बस्नेत, सुभाष विष्ट, श्री बहादु्र खड्कालाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।