पुलिसलाई काभा महिला क्लब च्याम्पियनसिप उपाधि


काठमाडौं ।

नेपाल पुलिस क्लब माल्दिभ्सको मालेमा भएको काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अपराजित रहँदैं च्याम्पियन बनेको हो।

पहिलो सेट २५–१६ ले जितेको पुलिसले दोस्रो सेट २५–२२ ले जितेको थियो। तेस्रो सेटमा २५–२३ को जित निकाल्दै पुलिसले उपाधि जित्यो। पुलिसले लिग चरणको पहिलो खेलमा पनि हुमोलाई ३–० सेटमै पराजित गरेको थियो।

त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो। तर, घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो। च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।