आर्थ्रोस्कोपी सर्जरी भनेको दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धति हो । सानो–सानो प्वाल पारेर दुरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आर्थ्रोस्कोपी भनिन्छ । यो अङ्ग्रेजीबाट आएको शब्द हो।
आर्थो भनेको जोर्नी र स्कोपी भनेको क्यामेरा वा दुरबिनको सहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुरबिनको सहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधिलाई आथ्र्रोस्कोपी प्रविधि भनिन्छ। प्रायः यो घुँडा (नी), कुम (सोल्जर), गोलीगाँठो (एन्कल) को गरिन्छ। आर्थ्रोस्कोपिक प्रविधिद्वारा मानवशरीरमा भएका जोर्नीहरु जस्तै– घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नीभित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।
खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्री भागको (लिगामेन्ट) नसा तथा वासर (मेनिस्कस) हरु च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नसा (लिगामेन्ट) बनाउने तथा च्यातिएको वासर (मेनिस्कस) लाई टाँका लगाएर उपचार गर्ने दुरबिन पद्धतिलाई आर्थ्रोस्कोपी सर्जरी भनिन्छ। घुँडाको आर्थ्रोस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनुपर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया), खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । र, कतिपय बिरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् ।
च्यातिएको लिगामेन्ट (वा नसा) लाई सानो प्वाल पारेर दुरबिनको माध्यमबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै बिरामीहरु खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट शुरु भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका बाधा, अवरोध पार गरेको हो ।
यसका उपकरणहरु तुलनात्मकरुपमा महँगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिला मात्र यो सर्जरीले विकसित रुप लिएको हो। ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरीपश्चात् दुखाइ पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ भएर फर्किने गरेका छन्।
यो सर्जरीपश्चात् फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ। पछिल्लो समय यस सर्जरी गर्ने बिरामीको संख्या बढेको छ। पटक–पटक कुम खुस्कने तथा कुमका अनेक समस्या भएका बिरामी पनि यो सर्जरीबाट लाभान्वित भएका छन्।
आर्थ्रोस्कोपी सर्जरी गरेका बिरामीहरु नौ महिनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्टमा फर्केका उदाहरण धेरै मात्रामा छन्।
नेपालमा यो सर्जरी एक दशकअगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रुप लिएको छ। घुँडाको लिगामेन्ट च्यातिएका कतिपय बिरामीले वास्ता नगरी बस्दा भविष्यमा घुँडा चाँडै नै बिग्रने, घुँडा खिइने तथा पछि दुखाइ लिएर बस्नुपर्ने हुन्छ। यस्ता बिरामीले समयमै उपचार गर्दा घुँडा बिग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ । तुलनात्मकरुपमा विदेशमा भन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ।
(डा. मिश्र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लास्टिक सर्जन हुनुहुन्छ ।)
प्रतिक्रिया