१. तारेभीर
काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ शिवपुरी राष्ट्रिय निकुञ्जकै भाग पर्ने तारेभीर काठमाडौंको उत्तरी भागमा रहेको छ। काठमाडौंको कोलाहलबाट बच्न र उपत्यकाको दृष्यपान गर्न तारेभीर उचित ठाउँ मानिन्छ। बूढानीलकण्ठस्थित देउवाचोकबाट तारेभीरको उकालो लाग्न सकिन्छ साथसाथै गोकर्णस्थित निजामती शहीद स्मृति पार्क नपुग्दै गोकर्णेश्वर महादेव मन्दिरबाट सुन्ताखान गाउँ हुँदै उकालो लाग्दा पनि तारेभीर पुगिन्छ। माथि तामाङ गाउँ पुगेपछि होमस्टे र रिसोर्टमा थकाइ मार्दै बस्न सकिन्छ।
तारेभीरबाट रातको समयमा खिचिएको तस्वीर।
२. बोसन डाँडा
दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडा या ह्वाइट हाउस समुद्रि सतहबाट १६ सय मिटर उचाइमा रहेको छ। ह्वाइट हाउसको नामले परिचित बोसन डाँडा दृष्यावलोकन, घुमघाम तथा पदयात्रा गर्न चाहानेका लागि उपयुक्त गन्तव्य हो। चोभार हुँदै टौदह पुगेर त्यहाँबाट अफ–रोडिङ हुँदै बोसनडाँडासम्म पुग्न सकिन्छ। बोसनडाँडाबाट काठमाडाैं उपत्यकाका ,हिमशृंखला, चोभार गुम्बा र टौदहलगायतको दृष्यावलोकन गर्न सकिन्छ।
बोसन डाँडाबाट देखिएको टौदहको तस्वीर।
३. नगरकोट
हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन उपयुक्त ठाउँ हो नगरकोट। काठमाडौं उपत्यकाबाट थोरै दूरीमा रहेको पर्यटकीयस्थल नगरकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको यो ठाउँ काठमाडौंबाट करिब ३२ किलोमिटर उत्तर–पूर्वमा भक्तपुरबाट २० किलोमिटर पूर्वमा अवस्थित छ। गर्मी मौसममा पनि चिसो वातावरणको आनन्द लिन, हिमशृंखला र सूर्यास्तको दृष्यावलोकन गर्न मानिस पुग्ने गर्छन्। काभ्रे र भक्तपुर जिल्लाको सीमामा रहेको नगरकोट चाँगुनारायण नगरपालिकामा पर्छ।
नगरकोटमा सूर्यास्तको दृष्यावलोकन गर्दै जोडी।
४. चोभारको डाँडा
काठमाडाैं जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको चोभार परिवारिक घुमघामका लागि राम्रो ठाउँ मानिन्छ। काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिण क्षेत्रमा रहेको चोभारबाट काठमाडौं शहरको सुन्दर, उपत्यकाबाट बाहिर निकास हुँदै गरेको बागमती नदी र हिमाल अवलोकन गर्न सकिन्छ। यो ठाउँ चलचित्र तथा म्युजिक भिडियोको छायांकनका लागि
प्रख्यात रहिआएको छ। चोभार डाँडाबाट साँझमा खिचिएको तस्वीर।
५. सेतो गुम्बा
काठमाडौंको रामकोट ८ डाँडागाउँमा रहेको सेतो गुम्बा शान्त वातावरण भएको ह्वाइट गुम्बा जोडीहरूका लागि मन भुल्याउने उपयुक्त स्थान हो। डुक अमिताभा माउन्टेन नामाकरण गरिएको ह्वाइट अर्थात सेतो गुम्बा धेरै प्रेमजोडीले रोज्ने गर्छन्। यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। यस ठाउँबाट दशैतिहारको समयमा इचंगु पूरै सयपत्री र अन्य फूलले ढाकिएको देख्न सकिन्छ। स्वयम्भू वा सितापाइलाबाट डेढ घण्टा हिँडेर गुम्बामा पुग्न सकिन्छ। रमणीय बगैँचा र हरियाली डाँडामा रमाउन खुबै मजा आउँछ।
सेतो गुम्बाबाट देखिएको सयपत्री खेतीको तस्वीर।
६.चन्द्रागिरि
कम्तिमा एक दिनको घुमघामलाई अविस्मरणीय बनाउन र शहरबाट नजिक सुविधा सम्पन्न गन्तव्य हो, चन्द्रागिरि। समुद्री सतहबाट २५५१ मिटर अग्लो यो चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो धुवा र प्रदूषणबाट मुक्ति मिल्छ । यो ठाउँ अग्लो सतहमा रहेकाले उपत्यकाको र हिमशृंखलाहरूको दुष्यावलोकनका लागि उपयुक्त मानिन्छ। यहाँ जाडो महिनामा हिउँ पनि पर्ने गर्छ । यहाँसम्म पुग्न चन्द्रागिरि हिल्स् प्रालिले व्यवस्था गरेको केवलकार या थानकोटबाट हिँड्दै पुग्न सकिन्छ।
चन्द्रागिरि तस्वीर खिच्दै महिलाहरू।
७.चाँगुनारायण
समुद्री सतहबाट करिब ५००० फिटको उचाइमाथि डाँडामा अवस्थित चाँगुनारायण मन्दिर पर्यटकीय धार्मिक तीर्थस्थलको रूपमा परिचित रहेको छ। काठमाडौंबाट करिब १६ किमि पूर्वभक्तपुर जिल्लामा अवस्थित छ। उपत्यकामा रहेको सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायाण पनि एक हो। मन्दिर परिसरबहेक वरपरबाट भत्तपुर र साँखुका ठुलठुला फाँट देख्न सकिन्छ। असारमा किसान फाँटमा व्यस्त र दशैँको समयमा हरियो धानले भरिएका ठुलठुला फाँट देख्दा मनै तरंगित हुन्छ। परिवारसँग पूजापाठ, सामान्य घुमघाम, ड्राइ पिकनिक र उपत्यकाको दृश्य अवोलकान गर्ने यो ठाँउ उपयुक्त रहेको छ।
चाँगुनारायणबाट देखिएको फाँटको दृष्य।
प्रतिक्रिया