सरुवा बेथिति कायमै, फेरि फिर्ता गरिए कैयौं प्रमुख प्रशासकीय अधिकृतहरू

अझै ब्याक डेटमा धमाधम सरुवा


काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी सरुवामा चरम बेथिति देखिएको छ। सयजना शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा पठाएको एक साता नपुग्दै फेरि झण्डै आधाजति प्रमुख प्रशासकीय अधिकृतलाई ती स्थानीय तहबाट झिकेर अन्यत्र पठाइएको छ।

सामान्यले एक साता अघिमात्रै विभिन्न रिक्त रहेका १ सय गाउँपालिकामा एकैपटक १ सय अधिकृतलाई खटाएको थियो तर सरुवा भएको एकसाता पनि नपुग्दै विभिन्न सोर्सफोर्स र शक्तिकेन्द्रको दबाबमा उनीहरूलाई अन्यत्र सरुवा गरिएको हो। यससँगै फेरि सयौं गाउँपालिकाहरू प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा पुगेका छन्।

उता, सामान्य प्रशासन मन्त्रालयले ब्याक डेटमा कर्मचारी सरुवा गर्ने क्रमलाई जारी राखेको छ। निजामती सेवा ऐन र नियमावलीअनुसार सामान्यले अन्तरमन्त्रालयस्तरको कर्मचारीको सरुवा भदौ महिनामा मात्रै गर्न पाउँछ तर अहिले असोज लागिसकेपछि पनि सामान्यले भदौ महिनाकै डेट राखेर अनियमित किसिमले सरुवा गरेको भन्दै कर्मचारीहरूले व्यापक विरोध गरेका छन्।

मन्त्रालयले पछिल्लो साता मात्रै ६ सयभन्दा बढी कर्मचारीको सरुवा गरिसकेको छ। मन्त्रालयले मंगलबार र बुधबार पनि ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको बताइएको छ। मन्त्रालयले गत सोमबार भदौ महिनाको अन्तिम दिन मध्यरातमा एकैपटक २ सय ५० भन्दा बढी कर्मचारीको अन्तरमन्त्रालयगत सरुवा गरेको थियो।

सो सरुवालाई अझै टिपेक्स लगाउँदै मिलाउने काम भइरहेको मन्त्रालयका केही कर्मचारीले बताएका छन्। ६ सयभन्दा बढी कर्मचारीको सरुवा भए पनि हालसम्म उनीहरूको नाम सार्वजनिक हुन सकेको छैन। मन्त्रलायका प्रवक्ता कालीप्रसाद पराजुलीले आफूले वेभसाइटमार्फत् सार्वजनिक गर्न बारम्बार आग्रह गर्दै आए पनि सार्वजनिक नहुनु दुखद् भएको बताउनुभयो।

‘मैले त कर्मचारी प्रशासन महाशाखालाई चाँडै सार्वजनिक गर्नु भनेको छु, उहाँहरूले रुजु गर्दैछौं अब छिटै सार्वजनिक गर्छौं भन्नुभएको छ।’ – प्रवक्ता पराजुलीले नेपाल समाचारपत्रसँग भन्न्नुभयो।