‘सरकारको न्यूनतम साझा कार्यक्रम असोज ४ अगावै’

1.41k
Shares

काठमाडौं ।

संसद्का ठूला दुई दल कांग्रेस–एमालेसहितको चार दलीय गठबन्धबाट बनेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम असोज ४ अगावै आउने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ। ओली अमेरिका प्रस्थान गर्नुअघि नै सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भइरहेको कार्यदलका एक सदस्य डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

‘हामीले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्दै छौं’, सकेसम्म बुधबार बेलुकाभित्र टुंग्याउने तयारी छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीज्यू अमेरिका जानुअघि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ । त्यसका लागि कार्यदलले आवश्यक कामहरू अन्तिम चरणमा पुर्‍याएको छ। हामीले त्यहीअनुसार काम गरिरहेका छौँ ।’

कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले चार दिनयता सरकारका नीति कार्यक्रमका बारेमा गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन्। डा. महतका अनुसार कार्यदलले बुधबार बेलुकासम्म मस्यौदाको अन्तिम रूप शीर्ष नेतृत्वलाई ब्रिफिङ गर्ने र बुझाउने तयारी छ।

कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। सरकार गठन भएको २ महिना बितिसक्दासमेत आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरेको आलोचना खेपिरहेको वर्तमान सरकारले चाँडै आफ्ना आगामी नीति कार्यक्रमका बारेमा जानकारी दिने र सोहीअनुसार कामको गति दिने सरकार सम्बद्ध दलहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा गत सोमबारको संसद् बैठकलाई जानकारी गराइसक्नुभएको थियो । ओलीले अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालय कोलम्बिया र हार्वडमा सम्बोधन गर्ने कार्यक्रम छ ।