आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री


काठमाडौँ ।

भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराह्न राजीनामा दिने बताइएको छ ।

४३ वर्षीय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा  पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।