रास्वपाप्रतिको आकर्षण बढेको छ, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंँ : रवि लामिछाने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन्।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरूले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरूलाई आफूहरूले अवमूल्यन नगर्ने स्पष्ट गरे। सभापति लामिछानेले आफूहरू राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरूको आगमननै अरुको लागि समस्या बनेको बताए।

उनले आफूहरूको आक्रमण पनि ठुलो हुने हुनाले आफुहरुप्रतिको आक्रमण पनि ठुलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए। लामिछानेले आफूहरूको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरूलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गरे।

यो लडाइँमा आफूहरूलाई हार्ने छुट नभएको बताउँदै आफूहरूले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए। उनले मानिसहरूले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरू गाली खान डराउन नहुने बताए।  सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको भन्दै आफूलाई गोर्खा मिडिया सञ्चालनमा  जबाफदेही भएको समितिले ठहर गरेको बताए। 

बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ। रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक- उपसंयोजक, प्रदेशको समिति-विभाग, केन्द्रीय समिति-विभाग-आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ।