माओवादी आन्दोलन मात्र हो, पार्टी बन्न सकेको छैन : शंकर पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताएका छन्।
प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूको प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताएका हुन् ।

‘माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन’, उनले भने । पोखरेलले नेकपा एमाले नेपाको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको दाबी गरे । परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले बताए। त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उनले सुनाए।

उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल एकताको लागि नआएको कारण नेकपा फुटेको पोखरेलले बताए। प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ । प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको उनले बताए। ‘प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, उनले भने। शक्ति केन्द्रले साथ दिएको कारण प्रचण्ड आफ्नो राजनीति सफल भएको पोखरेलको विश्लेषण छ। ‘उनीहरूको साथ नभएको भए उनको अवस्था हेर्न लायकको हुन्थ्यो’, उनले भने।

पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको दाबी गरे । २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने पोखरेलको ठम्याई छ । ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उनले भने। अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताए। नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलको दाबी छ।

साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका पोखरेलले बताए। यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताए।