काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन्। त्यसरी आवेदन दिनेहरूमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म रहेका छन्।
डीन पदका लागि आवेदन दिनेहरूमा प्राडा अभिमन्यु झा, प्राडा मोहनराज शर्मा, प्राडा निरजु रञ्जित, प्राडा रामचन्द्र अधिकारी र प्राडा रमेशसिंह भण्डारी रहेका छन्। यस्तै प्राडा दिनेश काफ्ले, प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा मिथा राना र सहप्राडा ज्योति बाबा श्रेष्ठले पनि डीन बन्नका लागि आवेदन दिएका छन्।
यसै गरी प्राडा संगरत्न बज्राचार्य, प्राडा रत्नमणी गजुरेल, प्राडा दिव्यासिंह शाह र प्राडा सुधा बस्नेतले पनि डीन पदका लागि आवेदन दिएका छन्। त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि नाम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो।
उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन्। समितिले गत १८ भदौमा सात दिनको अवधि तोकेर डीन पदका लागि इच्छुकहरूलाई आवेदन भर्न सूचना जारी गरेको थियो तर सो अवधि पुन थपिएको थियो। ‘गत आइतबार थपिएको अवधि सकियो। सो अवधिसम्म १३ जनाको आवेदन परेको बुझिएको छ।
त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर उनलाई अर्को डीन नियुक्ति भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न थप समय तोकिएको छ। हाल डीनको जिम्मेवार उनले नै सम्हालेकी छन्।
प्रतिक्रिया