प्रधान सेनापति ट्रफीमा एन्जिला र रामचन्द्र पहिलो


काठमाडौं ।

प्रधान सेनापति ट्रफी २०८१ खेलकुद प्रतियोगिताअन्तर्गत दौडमा एन्जिला कार्की र रामचन्द्र बानियाँले पहिलो स्थान हासिल गरेका छन् । १६ बाहिनी अड्डाकी एन्जिला महिला ८०० मिटर दौडमा पहिलो भएकी हुन्। यस्तै, मध्यपूर्वी पृतनाकी करिश्मा पुन र उपत्यका पृतनाकी लिजा लम्तरी मगर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

यसैगरी पुरुष १५०० मिटर दौडमा १६ बाहिनी अड्डाका रामचन्द्रले पहिलो स्थान हासिल गरेका हुन्। यस्तै, विशेष फौज बाहिनीका अक्कलबहादुर पाल दोस्रो भए भने विशेष फौज बाहिनीका गणेश सिंह रावत तेस्रो भए।

प्रतियोगिताको उद्घाटन आइतबार प्रधान सेनापति महारथी अशोकराज सिग्देलले गर्नुभएको थियो। यो प्रतियोगिता नेपाली सेनाभित्र प्रतिभावान् खेलाडीहरूको पहिचान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको हो।

आगामी आश्विन १५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ टिमहरूको सहभागिता रहेको छ। प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन्।