ओलम्पियाडमा चम्किँदैं मकवानपुरका विवेक


हेटौंडा ।

मकवानपुरको बिकट कैलाश गाउँपालिका–३, कालीकाटारका विवेक थिङ सानैदेखि खेलकुदमा रुचि राख्दथे । साथीहरुसँग फुटबल खेल्न जानु उनको दैनिकी थियो । घरमा आमाबुबासँग अनेक बहाना बनाएरै भए पनि उनी फुटबल खेल्न जान्थे । त्यतिबेला विवेकले चेसमा लाग्छु भन्ने सोचेका थिएनन् होला ।

कर्फ्युको समयमा दाइ (सञ्जय लामा) ले दिन कटाउन उनलाई चेस खेल्न प्रस्ताव गरेका थिए। पहिलो खेलमै उनले सञ्जयलाई हराए । त्यसपछि उनमा यो खेलप्रति लगाव बढिरहेको थियो। दाइसँगको त्यही खेलबाट हौसिएका विवेकले नेपाल बुद्धिचाल संघले आयोजना गर्ने विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर सहभागिता जनाए।

सबै प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै सफलताको सिंढी चढिरहे । उनले स्कुलस्तरीय अन्नपूर्ण चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरे। तेस्रो स्थान हासिल गरेर ५ सय रुपियाँ जितेका विवेक सम्झन्छन्–त्यो मेरा लागि विशेष क्षण थियो ।
उनी कक्षा छाडेर फुटबलसमेत खेल्न जान्थे। साथीहरुले भने फुटबलमै लाग्नुपर्छ भनिरहन्थे । तर एक जना सर (हरिकृष्ण) ले ‘चेस खेलमा तिम्रो भविष्य छ, त्यही खेलमा लाग्नुपर्छ’ भनेर सुझाएका रहेछन्। आफूलाई पनि त्यस्तै महसुस भएर चेसमा लागेको उनले सुनाए ।

उनले बताए–‘१३/१४ वर्षको उमेरबाट रेटिङ गेम खेल्न थालिसकेको थिएँ। मेरो पहिलो रेटिङ १८२० थियो । जुन जुनियर प्रतियोगिताका लागि निकै राम्रो रेटिङ हुन्थ्यो भने सिनियर प्रतियोगितामा प्रवेश गर्न यो चुनौतीपूर्ण रेटिङ थियो । त्यसपछि म विभिन्न प्रतियोगितामा सहभागी भएँ।’

विवेक सन् २०१३ मा यु–१९ राष्ट्रिय च्याम्पियनसमेत भए । निरन्तर प्रतियोगिता नहुँदा र स्तरीय प्रतिद्वन्द्वीविरुद्ध खेल्न नपाउँदा आफ्नो रेटिङ जोगाउन कठिन हुने विवेकको बुझाइ छ । सन् २०१४ मा रसियन सोसियल स्टेट विश्वविद्यालयबाट उनले रुसमा चेसको छात्रवृत्ति पाएका थिए । त्यहाँ उनले ग्रान्डमास्टरहरुसँग एक वर्ष प्रशिक्षण लिने मौका पाएका थिए।

मकवानपुरका उनै थिङले ४५ औं चेस ओलम्पियाडमा २१ मध्ये २० सदस्यीय नेपाली टोलीले हंगेरीको भिसा नपाएपछि थिङ मात्र सहभागी भएका हुन् । उनी अष्ट्रेलियाबाट सीधै प्रतियोगितामा सहभागी भए । हंगेरिको बुढापेस्टमा थिङले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक रिङ एक्स्पो क्लासिकमा लिएका हुन् ।

नेपालका थिङसहित अमेरिका, जर्मन, इटाली, रोमानिया, डेनमार्क, युक्रेन, हंगेरिया, पर्सिया, घाना, नाइजेरियाका खेलाडी प्रतिस्पर्धामा छन् । नेपालका उच्च २२८२ रेटड सीएम थिङ शीर्ष खेलाडीमा छन् । ४५ औं ओलम्पियाडमा भाग लिन एक सय ९७ राष्ट्रले आवदेन दिएका थिए । तर, समान २० राष्ट्रका पुरुष तथा महिला खेलाडीले हंगेरीको भिसा प्राप्त गर्न नसक्दा प्रतिस्पर्धा गर्न पाएनन् । प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १० जना नेपाली खेलाडी सहभागी हुने तय भएको थियो ।

चेस ओलम्पियाड टिम च्याम्पियनसिप हो, जसमा देश–देशबीच टिमको प्रतिस्पर्धा हुन्छ। एउटा प्रतिस्पर्धामा एउटा टिममा ४ जना खेलाडी हुन्छन् र टिमले त्यस खेल जित्न २.५ अंक प्राप्त गर्छन्।