विवेकले हंगेरीमा युरोपियन खेलाडीलाई हराए

1.32k
Shares

काठमाडौं ।

नेपालका चेस खेलाडी विवेक थिंगले बुढापेष्टमा जारी प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक ओपन चेस च्याम्पियनसिपमा शानदार प्रदर्शन गरिरहेका छन् ।

नेपालले शनिबारसम्म लगातार तीन खेलमा जित हासिल गरिसकेका हुन् । पहिलो चरणमा जर्मनीमा खेलाडीलाई पराजित गरेका विवेकले दोस्रो चरणको खेलमा हंगेरीका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई पराजित गरे । यस्तै, हिजै तेस्रो चरणमा उनले हंगेरीकै अन्तर्राष्ट्रिय मास्टर (आईएम) मेसजारोस आन्द्रासविरुद्ध पनि जित निकालेर सनसनी मच्चाए ।

४५ औं ओलम्पियाडका लागि नेपाली टिमलाई हंगेरी र जर्मनीले भिसा दिएनन् । आयोजक राष्ट्रले भिसा नदिएपछि नेपालबाट सहभागी हुनुपर्ने ९ जना चेस खेलाडीले यस ओलम्पियाडमा खेल्न पाएनन् ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले भिसा नदिएको कारण विश्वास नगरिएको बताए। उनले भने-भिसाको लागि हामीले निवेदन दिएका थियौं । हंगेरीको दुतावास नयाँ दिल्लीमा भएको हुँदा त्यतै निवेदन दिएँ । तर, त्यहाँबाट भिसा नदिएपछि हामीले काठमाडौंस्थित जर्मनी दुतावासमा निवेदन दियांैं । त्यहाँबाट पनि हामीले भिसा पाउन नसक्दा खेलाडीहरु निरास समेत भए ।

हंगरीमा अहिले भइरहेको ४५ औं चेस ओलम्पियाडका लागि राष्ट्रिय प्रतियोगितामार्फत् खेलाडी छनौट गरिएको थियो । छनौट भएका खेलाडीहरुलाई काजकिस्तानका ग्राण्डमास्टरवाट प्रशिक्षण प्रदान गरी पदक जित्ने लक्ष्य लिएको थियो। अफसोस आयोजक राष्ट्रले भिसा उपलब्ध नगराउँदा खेलाडी निराश हुन पुगेका थिए।

विश्व बुद्धिचाल महासंघले नेपाल सहित २० राष्ट्रले भिसा प्राप्त गर्न नसकेको विषयमा चासो लिँदै केही दिन पछि हुने बृहत् साधारण सभामा छलफल गर्ने अध्यक्ष महर्जनले बताए। उनको अनुसार नेपालसहित अन्य राष्ट्रले भिसा पाउन नसक्नु सही नभएकोले महासंघले नेपालका लागि क्षतिपूर्ति दिने वचन दिएको छ।

विवेक भने अस्टे«लियामा बसोबास गरिरहेको हुनाले उनले उतैबाट प्रतियोगिताका लागि निवेदन दिएका थिए । उनलाई हंगेरी प्रवेशको भिसा प्राप्त भयो र उनले खेल्ने मौका पाए । उनी प्रतियोगितामा सहभागी नेपालका एक मात्र खेलाडी हुन् ।

विवेक एफएम बन्न सक्ने
यससँगैं क्यान्डीटेड मास्टर विवेकले तीन चरणको खेलवाट शतप्रतिसत नतिजा निकाल्दै स्पर्धामा अगाडी रहेका छन्। ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बरसम्म ९ चरणको खेल हुनेछ। स्विस मेनेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहने छ।

यस प्रतियोगिता अघि विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको थियो । उनले तीन खेलवाट ९ रेटिङ वृद्धि गरेर २२९१ रेटिङ बनाइसकेका छन्। प्रतियोगिताभरी उनले ९ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा नेपाली चेसमा पहिलो फिडेमास्टरको उपाधि प्राप्त गर्नेछन्।

प्रतियोगितामा पहिलो हुनेले ३ सय ७५ यूरो, दोस्रोले ३ सय यूरो, तेस्रोले २ सय ५० यूरो, चौथोले १ सय ७५ यूरो, पाँचौ हुनेले १ सय २५ यूरो पुरस्कार प्राप्त गर्नेछन्।