६ वर्षपछि बलात्कार मुद्दाको  फैसला, कसुरदार फरार

3.76k
Shares

धादिङ ।

६ वर्ष अघि बलात्कार गरी  फरार भएको घटना सम्बन्धी मुद्दाको जिल्ला अदालतले शुक्रवार फैसला सुनाएको छ ।

५७ वर्षीया  एक महिलालाई बलात्कार गरेको कसुर कायम गर्दै जिल्ला अदालतले नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुलाई ७ वर्ष कैद र   २ लाख रुपैयाँ जरिवाना गर्ने  फैसला गरेको छ ।

जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले कसुरदारलाई ७ वर्ष कैद गर्दै २ लाख रुपैयाँ जरिवाना गर्न तथा पीडितलाई सो जरिवानाको रकम क्षतिपूर्ति दिन पैसला गरेकी हुन् ।

०७५ साउन २७ गते कसुरदारले महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । सोही दिन जिल्ला अदालत धादिङमा पीडितको स्वास्थ्य परीक्षण भएको थियो ।  ०७५ पुस २४ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा संलग्न चित्रबहादुर गुरुङ फरार भएकोले मुद्दा ०७६ कात्तिक २५ गते मुल्तबीमा राखिएको थियो ।

सर्वाेच्च अदालतले २ वर्ष पुराना मुद्दा बाँकी नराख्नु भन्ने आदेश र जिल्ला अदालतको पुराना मुद्दाको किनारा लगाउने निति अन्तर्गत  ०८० माघ १२ गते मुद्दा मुल्तबीबाट जगाइएको थियो । हालपनि कसुरदार फरार छन् ।

यसैगरी  जिल्ला अदालतले शुक्रवार १४ वर्षीया बालिका बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) गरेको कसुरमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का ५२ वर्षीय राजु श्रेष्ठलाई ९ वर्ष कैद गर्ने फैसला सुनाएको छ ।

कसुरदार ठहरिएका श्रेष्ठबाट ३ लाख ५० हजार जरिवाना गर्ने र पीडितलाई १ लाख जरिवाना भराउन जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले फैसला गरेकी हुन्  ।  कसुरदारले ०८१ वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी  जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता भई कसुरदार पुर्पक्षका लागि थुनामा थिए ।