अवधि पुगेका झन्डै डेढ दर्जन जिल्लामा सिडिओ हेरफेरको अन्तिम गृहकार्य 

आजै केही जिल्लामा सिडिओ हेरफेर हुन सक्ने 


काठमाडौं ।

केही दिन अघि काठमाडौं  लगायत रिक्त ३ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएर कर्मचारी व्यवस्थापन थालेको गृह मन्त्रालयले दोस्रो चरणमा झन्डै डेढ दर्जन सिडिओ हेरफेर गर्ने गृहकार्य थालेको छ। सो अनुसार आज साँझ सम्म झन्डै  डेढ  दर्जन जिल्लामा सिडिओहरू हेरफेर हुन सक्ने गृह स्रोतले  जानकारी दिएको छ। 

 नयाँ सचिवमा गोकर्णमणि दुवाडी आएपछि गृह मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा गत मंगलबार काठमाडौंको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्नुका साथै रिक्त सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीमा नयाँ सिडिओ पठाएको  थियो । अब दोस्रो चरणमा ८ देखि १० महिनाको कार्यावधि पुगेका तथा केही जिल्लामा आफै छोड्न खोजेका गरी झन्डै डेढ दर्जन जिल्लामा सिडिओ परिवर्तन गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको गृह मन्त्रालय स्रोतले   जनाएको छ।

‘दोस्रो चरणको सरुवाको अन्तिम गृहकार्य थालिएको छ, झन्डै डेढ जिल्लाका सिडिओहरू आजै  परिवर्तन हुन सक्छन् ।’गृह स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । 

जिल्लामा सिडिओको न्यूनतम कार्य अवधि ८ देखि १० महिना अवधि पुरा गरेका अधिकांशको सरुवा हुने गरी  गृहकार्य अन्तिम चरणमा पुर्‍याइएको  गृह स्रोतले जानकारी  दिएको छ । काठमाडौं पछि आकर्षण मानिने ललितपुरमा पनि नयाँ सिडिओ पठाउन गृहमन्त्री र सचिव माथि दबाब भएपनि  ललितपुरमा परिवर्तन हुने नहुने  निश्चित छैन । 

गृह स्रोतका अनुसार सिडिओको न्यूनतम सेवा अवधि पुगेका स्याङ्जा, रामेछाप, दोलखा, रुपन्देही, दाङ, पर्सा, बारा, कपिलवस्तु, डोटी,  लगायतका जिल्लामा नयाँ  सिडिओ   पठाउने गृहकार्य अन्तिम चरणमा पुर्‍याइएको हो। गृह मन्त्री रमेश लेखक निकट स्रोतका अनुसार उनी मन्त्रालयकै विभिन्न महाशाखाहरु प्नि हेरफेर गर्ने तयारीमा जुटेका छन्।

गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख  नारायण  प्रसाद भट्टराईलाई उनले भनेबमोजिम नै अन्यत्र व्यवस्थापन गरी गृहमा शान्ति सुरक्षा महाशाखा तथा  प्रवक्ताको  जिम्मेवारी अर्कै सहसचिवलाई दिने तयारी  गरिएको गृह स्रोतले  जानकारी दिएको छ। स्रोतका अनुसार पहाडका ठुला जिल्ला र तराईका आकर्षक मानिएका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर जान केही सहसचिवहरूले  दौड धूपलाई तीव्रता दिएका छन्।