आहा रारामा हालसम्मकै सबैभन्दा बढी घाटा

आर्थिक मन्दी र खेलाडी पलायन कारण

3.1k
Shares

पोखरा ।

सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटी बनाइने भएको छ। मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो।

खेलकुदमा नेपालमै पहिलो पटक आयव्यय सार्वजानिक गर्दै स्थिति बसालेको सहारा क्लबले सात महिना ढिला गरि आयव्यय सार्वजानिक गरेको हो । बिहीबार एक कार्यक्रममा कोषाध्यक्ष विनु रानामगरले आयव्यय सार्वजानिक गरिन्।

रानामगरको अनुसार १५ लाख ५६ हजार ६ सय ६५ रुपैयाँ क्लबले घाटा व्यहोरेको हो । यो रकम २३ औं संस्करणसम्म आइपुग्दा सबैभन्दा बढी घाटा रकम हो । ९९ लाख ८५ हजार ४ सय ५१ रुपैयाँ आम्दानी हुँदा एक करोड १५ लाख ४२ हजार एक सय १७ रुपैयाँ खर्च भएको थियो ।

क्लबका अध्यक्ष केशवराज बरालले देशमा देखा परेको आर्थिक मन्दी र राष्ट्रिय खेलाडी विदेश पलायन हुँदा प्रतियोगिताको रौनक घटेको बताए । ‘प्रतियोगिता घाटामा जाँदा हामीलाई निकै समस्या र चुनौती आइलागेको छ । हामीले घाटामा जानुको कारण के हो भने सुक्ष्म विश्लेषण गर्न अध्ययन कमिघी बनाउँदै छौं’ उनले भने, यो टिमले प्रतिवेदन तयार पारी हामीलाई दिनुहुनेछ । जसले आगामी प्रतियोगिताका लागि सहज हुने विश्वास लिएका छौं ।’

प्रतियोगितामा उठेको रकम एक व्यक्तिले चलाई रकम नभएको चेक दिएका थिए । एक लाख १५ हजार रुपैयाँको चेक बाउन्स भएको बरालले जानकारी दिए । ती सदस्यले केही दिनमा रकम दिने बताएका कारण आफुहरु रोकिएको उनले सुनाए ।
यस पटक आहा रारा पोखरा गोल्डकपमा टिकटबाट २६ लाख ३७ हजार ६ सय १३ रुपैयाँ आम्दानी भएको थियो । जसबाट खल्ती एपलाई टिकट बिक्री कमिशन मात्रै दुइ लाख ९८ हजार ७२ रुपैयाँ बुझाएको थियो ।

प्रतियोगितामा सबैभन्दा बढी खेलाडी दैनिक भ्रमण खर्चमा देखिएको छ । उक्त शीर्षकमा ३९ लाख ७३ हजार चार सय ५७ रुपैयाँ खर्च भएको देखिन्छ। त्यसपछि आयोजक खर्च ११ लाख ५७ हजार ३० रुपैयाँ रहेको छ भने आयोजक टिम तयारीमा पाँच लाख ६३ हजार सात सय ४० रुपैयाँ खर्च भएको छ। यस्तै प्रोत्साहन खर्च पनि १९ लाख ६२ हजार रहेको छ । प्रतियोगिता घाटामा गएपछि क्लबभित्रै असन्तुष्टि भइरहेको छ ।

प्रतियोगिता संयोजक पूर्ण गुरुङका अनुसार यसपटक भुटानी टिम ल्याएको र उनीहरुका लागि करिब ८ लाख रुपैयाँ खर्च भएको थियो। जसका कारण प्रतियोगिताको खर्च रकममा वृद्धि भयो। हालै एएफसीमा चर्च ब्वाइजलाई हराएकै टिम आएपनि आहा गोल्डकपको पहिलो खेलमै हार व्यहोर्दा दर्शक तान्न नसकिएको उनको भनाइ थियो।

प्रतियोगितालाई लोकप्रिय बनाउन राम्रो टिम ल्याउँदा खर्च भएपनि दर्शक सोचेअनुसार नआउँदा केही हदसम्म असर गरेको उनको भनाई थियो। क्लबका अध्यक्षले भने राष्ट्रिय खेलकुद परिषद्ले समेत आफुहरुलाई सहयोग नगरेको बताए। अघिल्ला संस्करणमा सहयोग गर्नेले समेत अहिले सहयोग नगर्दा आम्दानीमा कमी भएको उनले सुनाए।