४८ राष्ट्रविरुद्ध गोल गरेका रोनाल्डो


एजेन्सी ।

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिलेसम्मकै सबैभन्दा बढी ४८ राष्ट्रविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
नयाँ सिजनको युईएफए नेसन्स लिगमा पोर्चुगलले पछिल्लो खेलमा स्कटल्यान्डलाई २–१ ले हराएको थियो।

पोर्चुगलमै भएको सो खेलमा कप्तान रोनाल्डोलाई बेन्चमा राखिएको थियो । तर, टिम पछि परेका बेला दोस्रो हाफमा मैदान छिरेका रोनाल्डोले ८८औं मिनेटमा गोल गरेर टिमको जितमा नायक बने । उनकै गोलको मद्दतमा पोर्चुगलले स्कटल्याण्डविरुद्ध जित निकाल्यो ।

नेसन्स लिगमा पोर्चुगलको यो लगातार दोस्रो जित समेत हो । सो खेलमा गरेको गोलसँगै ३९ वर्षका रोनाल्डो अब अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै विपक्षी टिमविरुद्ध गोल गर्ने खेलाडी बनेका हुन् । त्यतिमात्र होइन, उनी सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ता समेत हुन् ।

रोनाल्डोले आफ्नो करियरमा पहिलोपटक ग्रीसविरुद्ध गोल गरेका थिए । रोनाल्डोले पहिलो खेलमै गोल गरेपछि उनी अब अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै फरक–फरक टिमविरुद्ध गोल गर्ने खेलाडी बनेका हुन् । स्कटल्यान्ड रोनाल्डोले गोल गरेको ४८औं टिम हो।

एक खेलाडीले आफ्नो करियर दौरान ४८ फरक–फरक देशविरुद्ध गोल गरेर नयाँ रेकर्ड बनेको हो। यो खेलअघि रोनाल्डोले क्रोएसियाविरुद्ध एक गोल गर्दै करियरको ९००औं गोलको कोसेढुंगा पूरा गरेका थिए। स्कटल्यान्डविरुद्धको गोलसँगै रोनाल्डोका नाममा कूल करियर गोल संख्या ९०१ पुगेको छ।

रोनाल्डोले लक्जेम्बर्गविरुद्ध ११ खेलमा सर्वाधिक ११ गोल गरेका छन् । उनले लिथुआनियाविरुद्ध तीन खेलमा ७ गोल र स्विडेनविरुद्ध सात खेलमा ७ गोल गरेका छन् ।