वडाध्यक्ष नै गए वैदेशिक रोजगारीमा

4.51k
Shares

ताप्लेजुङ ।

सिरिजंघा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीमा गएसँगै वडाध्यक्षविहीन भएको छ। करिब एक वर्षदेखि वडा कार्यालयमा उहाँ उपस्थित हुनुभएको छैन। 

लामो समय वडामा नभएकाले दैनिक कार्य र विकास गतिविधि प्रभावित भएको स्थानीयको बताएका छन्।  वडाध्यक्ष बोखिम २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ जानुभएको थियो। कार्यवाहक अध्यक्षमार्फत वडाका काम अगाडि बढाइए पनि स्थानीय बासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन्।

वडाध्यक्ष खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत भदौ ५ गते स्थानीयहरूले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र समेत बुझाएका थिए। 

वडाध्यक्षको अनुपस्थितिले गर्दा वडाका जनप्रतिनिधिहरूले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाइ भोगिरहेको स्थानीय बताउँछन्। विशेष गरी, वडाभर सार्वजनिक सेवा, स्वास्थ्य, र पूर्वाधार निर्माणका काममा अवरोध आइरहेको जनाइएको छ । उनीहरूले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग गरेका छन्।

‘वडाध्यक्ष बोखिम आफ्नो जिम्मेवारबाट पन्छिएर वैदेशिक रोजगारको सिलसिलामा जानु अत्यन्तै दुःखद छ’, ज्ञापन पत्रमा भनिएको छ– ‘जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति जिम्मेवारी हुनाले कसरी विकास हुन्छ ? गाउँपालिकामा जस्तो वडामा प्रतिनिधित्व गर्ने नेतृत्वविहीन जनताको दृष्टिकोण कस्तो हुन्छ ?’

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरूमा छत्र काङभा, शक्तिलाल पौडेल, अमित काङभा, मणिकुमार लिम्बु, निर्मलकुमार युवागु र छविलाल निरौला रहेका छन् ।