गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति प्रेस चौतारीको गम्भीर आपत्ति


काठमाडौं ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति प्रेस चौतारी ललितपुरले गम्भीर आपत्ति जनाएकाे छ ।

अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीले बिहीबार धरपकड गर्दै जबरजस्ती पक्राउ गर्न खोजेको प्रति प्रेस चौतारी नेपाल, ललितपुर गम्भीर आपत्ति जनाएकाे हाे ।

काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेकोमा कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोलीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास विफल भएको थियो ।

पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगको रुपमा स्वीकार गरेको सन्दर्भमा समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ ।

जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको पूर्व अध्यक्षले जारी गरेको विज्ञाप्तिमा उल्लेख गरिएकाे छ ।

यस घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानबिन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोर्‍याउन प्रेस चौतारी नेपाल ललितपुरले चेतावनी दिएकाे छ ।