कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा


विराटनगर ।

 कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । 

प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५: १५ सम्ममा हुने र दाबी विरोधका लागि ५:१० देखि ५:३० सम्म, दाबी विरोधमाथि छान ५:३० देखि ५:४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५:४५ देखि ६:०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ । त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी दिएको छ ।

यसैबिच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

प्रदेश सभामा रहेका ७ समितिहरुमा एमाले र काँग्रेसले ३-३ र माओवादी केन्द्रले एक समितिको सभापति पाउने गरि सहमति भएको छ ।

जसमा एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै काँग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राई उम्मेदवार बन्ने भएका छन् ।

त्यसैगरी माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिएका छन् ।