१० वर्षदेखि हराएका बाबुआमा खोज्दै अभिषेक धादिङबेँसीमा

75.48k
Shares

धादिङ ।

एउटा टिसर्ट लगाएका गहुँगोरो, अन्दाजी १४ वर्षको अभिषेक स्याङ्तान नाम बताउने बालक धादिङबेँसीमा बाबु आमा खोज्दै आइपुगे । उनी ५ वर्षको हुँदा आमाले आफ्नो घर धादिङ चौतारा बताएपछि धादिङ आएका हुन् ।

करिब १० वर्षअघि काठमाडौं स्वयम्भुमा रहेको एउटा गुम्बामा उनलाई बाबुआमाले बौद्धसम्बन्धी पढाइ गर्न छाडेर गएका थिए । छाडेर गएपछि एक वर्ष जति कहिले बाबु सुनील, कहिले आमा सुनिता भेट्न आउँथे । आफ्नो घर धादिङ चौतारा हो भनेर उनलाई उनका आमाले बताएकी थिइन् । एक वर्षपछिबाट बाबुआमा भेट्न आएनन् । उनलाई बाबु सुनीलको फोन नम्बर ९८४०३१७७१० र आमा सुनिताको फोन नम्बर ९८६९२४२५९९ अहिले पनि कण्ठस्थ छ ।

जब बाबुआमा गुम्बामा भेट्न आउन छाडे तबदेखि फोन लाग्न छाड्यो । अभिषेक पनि गुम्बा छाडेर भागे । काठमाडौंको सडक बालक भएर हिँडेपछि उनी कहिले सडक पेटीमा त कहिले माग्दै कसैको आँगनमा गुजारा गर्दै आए । ८ वर्षअघि सडक बालक उद्धार गरेपछि नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले दोलखाको सीपीसीएस भन्ने संस्थामा पुर्‍यायो ।
अनुहार अँध्यारो लगाएर परिवार खोज्दै एक जना संरक्षकको सहयोगमा धादिङबेँसी आएका अभिषेकले पत्रकारहरूलाई आफ्नो कथा बताउँदा भक्कानिएर रोएका थिए । निहुरिएर आँसु पुछेका अभिषेकले दोलखाबाट करिब एक वर्षपछि भागेर एउटा बस चढेर पुनः काठमाडौंमा सडक बालक बनेको कथा सुनाए ।

केही समयपछिको सडक बालकको नारकीय जीवनपछि नेपाल प्रहरीले उद्धार गरेर उनलाई बौद्धको सुधार केन्द्रमा राख्यो । १४ महिना बसेपछि उनलाई कुक तालिम सिक्ने अवसर आयो । कुक तालिम सिकेपछि काट गर्ने अवसर पनि पाए । स्मार्ट क्याफेमा २ वर्ष कुकको काम गरे । तर, काठमाडौंमा बालबालिकालाई काममा लगाउन नपाइने भएकाले होटल साहुले नागरिकता मागे । उनीसँग जन्म दर्तासमेत नभएकाले काम छाड्न बाध्य भए । परिवारले छाडेपछि विक्षिप्त हुँदै सम्हालिँदै आएका अभिषेकले बस्ने र खाने ठाउँ फेरि पाएनन् उनी फेरि सडकमै पुगे । उनी बालक नै भएको र सडकमा भौंतारिएको अवस्थामा मकवानपुर चित्लाङका राजुकाजी गमालले २ वर्षदेखि संरक्षक बनेर राख्नुभएको छ । हाल अभिषेक पढ्न रुचाउने भएका छन् । एकपटक पढेपछि दिमागमा ख्याल राख्छन् ।

अभिषेकले पढ्न रुचि राखेपछि गमालले स्वच्छन्द भैरव माविमा लगे । विद्यालयले पढाइका लागि जन्म दर्ता माग ग¥यो । अभिषेकको जन्म दर्ता नभएकाले हाल विद्यालयमा पढ्दै गरे पनि जन्म दर्ता ल्याएपछि मात्र भर्ना गर्न पाइने व्यवस्था छ ।
अभिषेकलाई आमाले धादिङ घर बताएको धादिङ चौतारामा घरघर छिरेर सोधखोज गरियो । अहिले उनी परिवारको खोजी गरेर जन्म दर्ता गर्ने र पढाइलाई अघि बढाउने पक्षमा भए पनि सो कार्य रोकिएकाले परिवार खोज्न आएका हुन् । गमाल संरक्षक बनेर जिल्ला प्रशासन कार्यालयमा परिवार खोज्ने कार्यमा सहयोग गर्न निवेदन दिएका बालक अभिषेकले ट्रक चालक बाबु, होचो कदको भएको, हातमा ट्याटु खोपेको देखिएमा खबर गरेर आफ्नो भविष्य सुनिश्चित गर्न सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

आफूलाई भेट्न नचाहेको भए पनि जन्मदर्ता गरी आफ्नो परिचय दिएमा आफू उनी तयार भएको र संरक्षक बस्नुभएका गमालले पढाइका लागि सघाउने र धादिङ खाल्टेका पवन ढुंगानाले बस्नका लागि बनाउने जग्गा दिने प्रतिबद्धता जनाउनुभएको छ ।
अभिषेकका लागि धादिङ चौतारा वा धादिङमा गाडी चालक सुनील स्याङ्तान, जसको हातमा ट्याटु छ लाई खोजी गरेर सम्पर्कमा ल्याउन अभिषेकले आग्रह गर्नुभएको छ ।