इन्द्रजात्राको लिङ्गो काठमाडौं प्रवेश


काठमाडौं ।

भदौ २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिं हिजो बुधबार कायाअष्टमिका दिन बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ। यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमानढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको छ। यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी भएका थिए।


एकादशीका दिन चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्नेछन्। यसलाई ‘वलः घायेगु’ भनिन्छ। ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसकेपछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ। यःसिं उठाइसकेपछि त्यो देवतासरह हुने भएकाले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नुपर्ने हुन्छ।

भदौ ३० गते आइतबार द्वादशीका दिन बिहान ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाइन्छ । यस कार्यमा पनि न्हय्सः नायः, चसाँद्व टोलका मानन्धरहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने चलन छ। यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ। यःसिं उठाइसकेपछि त्यसको माथिबाट ध्वजा फहराइन्छ। जसलाई ‘हलिंपताः भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिह्न अंकित हुन्छन् । यो काम दैसाः टोलका मानन्धरहरूले गर्छन्।

यस वर्ष भाद्र २० गते, शुक्ल द्वितीया (द्वितीया, यंलाथ्व २१ गते बिहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वन यात्रा शुरू भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बञ्चरो) र वहःपा (चाँदीको बञ्चरो) ले सांकेतिक रूपमा रूखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो।

वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका व्यक्तिहरूले यंःसि तानेर भोटाहिटी ल्याएका थिए। यहाँ तँलाछीका मानन्धरहरूले यंःसिको स्वागत गरेका थिए। यसपछिका ४ दिन यंःसिलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला) को सिरानीमा सुताएर राख्ने गरिएको छ।

सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनःस्थापना गरिएको छ। यस बेला श्रद्धालुहरू यंःसिको पूजाआजा गर्ने गर्छन्। यसरी राखिएको यंःसि कुल्चेर वा नाघेर जानु हुँदैन। भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो। नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो।