इन्द्रध्वजलाई नगर प्रवेश गराइयो


काठमाडौँ ।

भाद्र २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिं आज कायाअष्टमिका दिन विहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ । यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोकहुँदै हनुमानढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको छ । यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी भएका थिए ।

एकादशीका दिन चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्नेछन् । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकालन माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ ।

भदौ ३० गते आइतबार, द्वादशीका दिन बिहानी ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाइन्छ । यस कार्यमा पनि न्हय्सः नायः, चसाँद्व टोलका मानन्धरहरू अनिवार्य रुपमा उपस्थित हुनु पर्ने चलन छ । यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसके पछि त्यसको माथिबाट ध्वजा फहराइन्छ । जसलाई ‘हलिंपताः’ भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिन्ह अंकित हुन्छन् । यो काम दैसाः टोलका मानन्धरहरुले गर्छन् ।

यस वर्ष भाद्र २० गते, शुक्ल दुतिया (द्वितिया, यंलाथ्व २) को दिन विहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वन यात्रा सुरु भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बञ्चरो) र वहःपा (चाँदीको बञ्चरो) ले सांकेतिक रुपमा रुखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो ।

वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका व्यक्तिहरुले यंःसि तानेर भोटाहिटी ल्याएका थिए । यहाँ तँलाछीका मानन्धरहरूले यंःसिको स्वागत गरेका थिए । यसपछिका ४ दिन यःसिंलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला) को सिरानीमा सुताएर राख्ने गरिएको छ । सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनःस्थापना गरिएको छ । यस बेला श्रद्धालुहरु यंःसिको पूजाआजा गर्ने गर्छन् । यसरी राखिएको यंःसि कुल्चेर वा नाघेर जानु हुँदैन ।
भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो । नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो ।