अध्ययन र अनुसन्धानबिना कम्पनीमा लैजाने सरकारको निर्णयले यातायात क्षेत्र तहसनहस भयो- वरिष्ठ उपाध्यक्ष सिटौला


पोखरा। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायात सम्बन्धी प्रस्ट नीति नल्याउँदा यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । 

बुधवार पोखरामा पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारण सभामा उपाध्यक्ष सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताएका हुन् । 

सरकारले सिण्डिकेटको नाममा अनुसन्धानबिना कम्पनीमा रूपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै सिटौलाले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक विहीन अवस्थामा रहेको बताएका थिए । 

उनले सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु मर्कामा परेको बताउँदै राज्यले कानुनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन, यातायात क्षेत्र अस्तव्यस्त बनेको समेत उनको भनाई थियो । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाएर अनुसन्धानबिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्‍यो। त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ‚’ उनले भने, ‘यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो‚ अहिलेसम्म बनेको छैन। अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ। त्यसले अस्वस्थ प्रतिस्पर्धा छ।’

उनले सरकारले कम्पनीको रुपमा कुनै पनि कार्यविधि नबनाएकाले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृत्ति बढ्दा अस्वस्थ प्रतिस्पर्धा बढेको आरोप पनि लगाए। उनले सरकारसँग कुन सवारीसाधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको बताएका थिए ।