मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवाहरु अघि बढ्नुपर्छ : क्षितिज थेबे

1.69k
Shares

धादिङ । 

राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले मार्क्सवादी चिन्तन र दृष्टिकोण लिएर युवा अघि बढ्नुपर्ने  बताएका छन् । 
राष्ट्रिय युवा संघ धादिङको ९ औँ जिल्ला अधिवेशनको मंगलबार धादिङबेसीमा उद्घाटन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष थेबेले सामाजिक न्याय प्राप्तिका लागि सधैँ युवाहरु लाग्नुपर्ने बताए ।

उनले युवाहरुको यात्रा सहि हुनका लागि बुझाइ र दृष्टिकोण सही हुनुपर्ने भएकोले राष्ट्रिय युवा संघमा आबद्ध हुन आग्रह गरे ।

राष्ट्रिय युवा संघले अब टोलटोलसम्म खेलकुदका कार्यक्रम लैजाने योजना गर्ने छ । टोलटोलमा युवा उद्यमी बन्ने छन् । टोलटोलमा प्रशिक्षण संचालन गरी  युवाहरुलाई मिसन ८४ का लागि युवा परिचालन गर्ने कार्यक्रम ल्याउने अध्यक्ष थेबेले बताए । राष्ट्रिय युवा संघले एक वर्षमा १० हजार युवा उद्यमी बनाउने योजना सहित काम गरिरहेको बताउँदै थेबेले विषयगत आधारमा युवा विज्ञ परिषद् बनाएर विज्ञताको आधारमा काम गर्ने र सरकारलाई समेत काम गर्न वातावरण बनाउने बताए । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले युवाहरु समयानुकूल परिवर्तन भएर एकताबद्ध रुपमा मिसन ८४ पुरा गर्न अघि बढ्नुपर्ने बताए । 

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एमाले हार्ने पार्टी अब स्वीकार्य नभएको बताउँदै युवाले ध्वंसमात्र नर्भइ निर्माणमा  लाग्नुपर्ने बताए ।
राष्ट्रिय युवा संघ  धादिङका अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामा, महाराज गुरुङ, महासचिव सुमन पुरी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा युवा संघ धादिङका पूर्व अध्यक्ष दिपक खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए । सबै वडा, पालिकाबाट आएका प्रतिनिधिहरुले राजनितिक तथा साङ्गठनिक प्रतिवेदनमाथि  छलफल गर्ने र नेतृत्व निर्माण गरेर अधिवेशन सम्पन्न हुने राष्ट्रिय युवा संघ धादिङका सचिव हरीशरण जमरकट्टेलले जानकारी दिए ।