सडक निर्माणमा चरम ढिलाइकाविरुद्ध रिले अनशन, अनशनमा संविधान सभा सदस्य र प्रदेशसभा सदस्यको समेत सहभागिता

1.03k
Shares

बुटवल। 

हुलाकी सडक निर्माणमा चरम ढिलाईकाविरुद्ध नवलपरासीका जनप्रतिनिधिहरु रिले अनशन बसेका छन् । निर्माण कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन जिल्लाको प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहितका जनप्रतिनिधिहरु मङ्गलवारदेखि रिले अनशनमा बसेका हुन् ।

  रिले अनशन गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादबको नेतृत्वमा संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरु र स्थानीय जनताहरु बसेका छन्। 

 नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक निर्माण कम्पनीले समयमा निर्माण कार्य सम्पन्न नगरेकाले स्थानीय यात्रीहरु वर्षामा हिलो र घाममा धुलोको मार खेपिरहेका छन् । सडकमा ठुलाठुला खाल्डाखुल्डी भएका छन् जुन बाटो यात्रा गर्न यात्रीहरुलाई निकै सास्ती भोग्न परिरहेको छ ।

 निर्माण कम्पनीले ६ वर्षमा पनि उक्त हुलाकी सडक निर्माण गर्न नसकेको र निर्माण कार्यमा चरम ढिलाइले यो बाटो अलपत्र पर्दै गरेको भन्दै प्रतापपुर गाउँपालिकाले विरोध कार्यक्रम सार्वजनिक गरी  जनप्रतिनिधि आन्दोलनमा उत्रेका हुन् । 

सरकारले निर्माण कम्पनीलाई तत्काल सम्पर्कमा ल्याई उक्त सडक छिटो निर्माण गराउन पहल गरोस् भनी दबाब दिन पालिकाका जनप्रतिनिधिहरु गोपीगंजमा रिले अनशन बसेको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । गाउँपालिकाले सरकार र निर्माण कम्पनी विरुद्ध यही भदौ २३ गते पत्रकार सम्मेलन मार्फत पहिलो चरणको विरोध तथा आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

उक्त दिन जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । सोही दिनदेखि आन्दोलन सुरु भएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले थालेको यो आन्दोलनमा जिल्ला राजनितिक दल र जिल्लाका ७ वटै पालिका र जिल्ला समन्वय समितिको समर्थन र ऐक्यबद्धता समेत रहेको छ । गाउँपालिकाले ३ बुँदे मागसहित थालेको आन्दोलनमा तत्काल माग पुरा नभए रिले अनशन र आमरण अनसन समेत बस्ने सार्वजनिक आन्दोलनका कार्यक्रम अनुरुप मङ्गलवार रिले अनशन बसिएको छ । नारायणचोक (गोपीगंज) देखि त्रिवेणीसम्म कुल १५ किलोमिटर दुरीको हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयाँमा ठेक्का लिएको छ । बाटो निर्माणका लागि कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरी  २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको थियो । 

तर पटक पटक म्याद थप भएपनि हालसम्म ५० प्रतिशत पनि काम सम्पन्न हुन सकेको छैन । त्रिवेणीधाम, सुस्ता र गण्डक क्षेत्रलाई सदरमुकाम संग जोडिने मुख्य सडक पनि यहिनै हो । नारायणचोकदेखि त्रिवेणीको यो हुलाकी सडकले बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालकालाई प्रत्यक्ष जोडेको छ । ठेक्काको समय सकिएर पटक पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीले काम सम्पन्न गरेको छैन ।