भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड


सिराहा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा रहेको बताएका छन् ।

सिराहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीय बासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरू देशव्यापी बैठक र छलफलमा जुटेको बताए।

पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिराहा पुगेका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठुलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए।

‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’– उनले भने, ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौँ । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भू-माफियाहरू आत्तिए। जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहरू छटपटाए।’

मिटर ब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए।’

उनीहरुले कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको उल्लेख गर्दै उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरू बिजेता कमाण्डरजस्तो गरी निस्केको बताए। तर, कांग्रेस एमाले कायरजस्तो गरी सरकारमा गएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशव्यापी रूपमा भ्रष्टाचार विरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ।’