अब जनताको अवस्था बदल्ने बेला आएको छ : प्रचण्ड


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन्।

नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए। विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए।

संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए।

“जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ”, उनले भने, “सङ्घीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।”

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए।