झारो टार्दै सडक डिभिजन, सास्ती खेप्दै नागरिक

752
Shares

बाजुरा ।

बाजुरेलीको लाइफलाइन मानिने साँफे–मार्तडी सडक खण्डअन्तर्गत गुँइगाड पुल हस्तान्तरण नगर्दै जीर्ण भएको छ। सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकमार्ग साँफे–मार्तडी सडकखण्डमा पर्ने बुढीगंगा नगरपालिकाको गुइँगाड खोलाको पक्की ट्रसब्रिजको एक भाग पूरै ढल्केको हो ।

पुल ढल्केपछि हुन सक्ने सम्भावित दुुर्घटनालाई न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय साँफेबगरले ‘सावधान !!! एकपटक एक गाडी मात्र’ भन्ने सन्देश छोडेर वर्षौंदेखि झारो टार्दै आएको छ । सावधानको अर्थ सडक निर्माण अर्थात् पुल पुनर्निर्माण मर्मत कार्य हुँदै छ, केही समयका लागि वैकल्पिक उपाय रोज्नका लागि हुनुुपर्ने हो । तर, यहाँ सडक डिभिजनले महिनौंदेखि टाँसेको होर्डिङबोर्डले नागरिक आवागमनमा थप सास्ती भएको छ।

सडकको कार्यालय बाजुरामा छैन । ‘पुल जीर्ण भएपछि सडक डिभिजन कार्यालय साँफेका कर्मचारीले होडिङबोर्ड राखेर गए । समस्या त नागरिकलाई भएको छ’, नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने– ‘यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको हो ।’

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ५ करोड ९६ लाख १ सय १२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यको जिम्मा लिएको कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गर्न सकेन । काम सम्पन्न नगरेपछि ०७१ असार मसान्तसम्म काम सक्ने गरी म्याद थप गरेको थियो। ‘थप गरिएको समयसीमामा पनि निर्माण कार्य सम्पन्न हुन सकेन । काम सम्पन्न नगर्दा भुक्तानी पनि रोकिएको छ ।’ –सडक डिभिनज अछामका कर्मचारी कृष्णबहादुर बुढाले भन्नुुभयो ।

गुइँगाडको पुलको अवस्था साह्रै दयनीय छ । यो सडक डिभिजन साँफेको दायित्वअन्तर्गत पर्छ। ‘पानीको बहाव उच्च भएमा पुल ढल्न सक्छ । खोलाको बायाँ किनारातर्फ तटबन्धन गर्नुपर्ने देखिन्छ।’– तत्कालीन पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका प्रमुख एवं इन्जिनियर जंगबहादुर थापाले भन्नुुहुन्छ। यदि, पुल संरक्षण तत्काल नभएमा गुइँगाडदेखि पुनः जिपबाट मार्तडीको यात्रा गर्नुपर्ने बाध्यता हुन्छ ।

२०७५ सालमा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी दिएको थियो । पक्की ट्रस ब्रिजको चेकजाँच गर्दा कमसल समान र ट्रस ब्रिजमा लगाउनुपर्ने सामग्री इस्टमेटअनुसारको जडान नगर्दा पुल हस्तान्तरण नगर्दै भत्किने आवस्थामा आएको प्राविधिक स्रोत बताउँछ।

६० मिटर लम्बाइ भएको उक्त पुलले ४५ टन लोडभार धान्नुपर्ने हुन्छ। पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलको लोड क्षमता चेकजाँच गर्दा ३० टन लोड पनि धान्न नसकी लच्किएपछि टोलीले पुल पास नगरी फर्किएको थियो। जीर्ण पुल र हस्तान्तरण प्रक्रिया लम्बिनुका कारणबारे सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठलाई विवरण उपलब्ध गराइदिन सूचनाको हक प्रयोग गरी निवेदन दिँदा पनि उहाँले सूचना दिनुभएको छैन। दुुई/चार दिन समय लाग्ने भन्दै झारो टार्दै आउनुभएको छ।