निसान्काको शतकमा श्रीलंका विजयी


एजेन्सी ।

पथम निसान्काको शानदार शतकको सहयोगमा श्रीलंकाले घरेलु टिम इंग्ल्यान्डलाई तेस्रो टेस्टमा ८ विकेटले पराजित गरेको छ । ओभलमा भएको टेस्टमा जित हात पारेसँगैं श्रीलंकाले इंग्ल्यान्डविरुद्ध लगातार १० टेस्टमा पराजयको क्रम पनि तोड्यो । तर, हार बावजुद ३ खेलको टेस्ट शृंखला इंग्ल्यान्डले २–१ ले जितेको छ ।

२१९ को विजयी लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर प्राप्त गरेको थियो । सोमबार ९४–१ को स्थितिबाट ब्याटिङ शुरु गर्दा श्रीलंकाको लागि जित्न १२५ रन आवश्यक थियो। कुसल मेन्दिस ३९ रनमा गस एटकिन्सनको बाउन्समा आउट भए।

निसान्का र एन्जेलो म्याथ्युजले विना विकेट गुमाएर आवश्यक १११ रन जोडेपछि इंग्ल्यान्डबाट ३–० ले ह्वाइटवाश हुनबाट जोगियो। निसान्काले १२७ रन बनाउँदा म्याथ्युजले ३२ रनको योगदान दिएका थिए। १०७ बलमा तीन अंकमा पुगेका निसान्काको यो करिअरमा दोस्रो टेस्ट शतक थियो।