क्रिकेटका ३ र फुटबलका २ खेलाडी मनोनयनमा


काठमाडौं ।

पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पुरुष र महिला खेलाडी विधाको मनोनयन सार्वजनिक गरेको छ।

शुक्रबार हुने अवार्डको २१ औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कष्ट पाँच खेलाडी सार्वजनिक गर्‍यो। वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छानिएको उक्त सूचीमा ३ खेलाडी क्रिकेटका छन् भने फुटबलका दुई खेलाडी समेटिएका छन्।

सो अनुसार उत्कृष्ट पुरुष खेलाडीको विधामा रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी तथा उत्कृष्ट महिला विधामा रुविना क्षेत्री परेका हुन् । यस्तै, फुटबलमा पुरुषतर्फ अनन्त तामाङ र महिलातर्फ सावित्रा भण्डारी रहेका छन् ।

पुरुषतर्फ क्रिकेट र फुटबलका खेलाडीसहित करातेका मोहम्मद शेख आलम र गल्फका सुवास तामाङ मनोनयनमा परे । यस्तै, महिला विधामा रुविना र सावित्रासँगैं करातेकी एरिका गुरुङ, कबड्डीकी मेनुका राजवंशी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा छन्।