कांग्रेसलाई बिग्रन दिँदैनौँ- गगन थापा


चितवन।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताएका छन् । नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन् । उनले भने, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।”

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उनले जोड दिए । “अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो ।

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताए । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।