विमानस्थलबाट बग्ने पानीले क्षति 


मुगु।

 मुगुको ताल्चा विमानस्थलमा बग्ने पानीको उचित व्यवस्थापन हुन नसक्दा प्रत्यक  वर्ष यहाँका खेती योग्य जनि कटान हुँदै आएको छ । छाँयानाथ रारा नगरपालिका –४ का वडा अध्यक्ष लक्ष्मी भामका अनुसार भामवाडा टोल ,रावलवाडा टोल र सेजुवालवाडाका गरी ३९२ घरधुरीले कमाइ खाने खेतबारीमा विमानस्थलबाट निस्किने पानीले कटान गर्दै आइरहेको छ । 

उनका अनुसार पानीको व्यवस्थापन हुन नसक्दा ताल्चादेखि भट्टेचौर सम्मको एक सय हेक्टर भन्दा बढी खेती योग्य जमिन पूर्ण रुपमा कटान गरेको छ । ताल्चा र कालापाल्त आसपासका २० वटा घर सो पानीकै कारण पूर्ण रुपमा जोखिममा रहेको उनले जानकारी दिए । स्थानिय पे्रमबहादुर भामका अनुसार बर्षाका बेला विमानस्थलबाट बग्ने पानी निकै ठूलो भलका रुपमा आउने गरेको छ । विमानस्थलको पानीले खेतीयोग्य जमिनसँगै पानीको बहावले हरेक वर्ष जमिन कटान गर्दा रारा ताल पनि जोखिममा पर्न सक्ने अवस्था आउन लागेको उनको भनाई छ । 

श्रावण महिनामा भीषण पानी पर्दा ताल्चा विमानस्थलबाट आएको पानीले धान र खेत समेत बाढीले बगाएको छ । नागरिक उड्ययन कार्यालय ताल्चा मुगुका कार्यालय प्रमुख सन्तोष गौतमका अनुसार विमानस्थल भित्रको मात्र पानीको व्यवस्थापन गरिएको भए पनि विमानस्थल वरिपरिको पानीको व्यवस्थापन हुन नसक्दा समस्या आएको बताए ।