काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद द्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए। क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए।
‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ’, उनले भने, ‘तर, जसको मुख्य कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध सङ्घर्षको सङ्कल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’
आफूहरू शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रूपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पुँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौँ । त्यहाँनेर गएर फेरि अर्को सङ्घर्ष हुन्छ भनेका थियौँ, अब राजनीतिक त्यतै जाँदै छ। दलाल पुँजीपति र नोकरशाहीहरुसँग सङ्घर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा सङ्घर्ष अघि बढाउनैपर्छ।’
नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पुँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध सङ्घर्ष अपरिहार्य रहेको स्पष्ट गर्दै उनले विचार, राजनीतिक एजेन्डा र क्रान्तिकारी विरासतमा आफूहरू बलियो भएकाले सङ्घर्षमा विजय प्राप्त गरेरै छाड्ने बताए ।
जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए। सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रूपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उनले वाग्लेको सहादतपछि पार्टीलाई ठुलो क्षति भए पनि सिङ्गो पार्टीपंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए।
तत्कालीन सरकारले जनयुद्धलाई केही वर्षमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न दमनका अभियानका चलाएको भए पनि सहिदहरुको बलिदानका कारण जनयुद्ध झनपछि झन् शक्तिशाली हुँदै गएको उनले स्पष्ट गरे। यस प्रकारका उच्च बलिदानीले युवा क्रान्तिकारीहरूलाई क्रान्तिमा होमिन प्रेरित गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै हजारौँ युवाहरु जनमुक्ति सेनामा भर्ती भएर जनयुद्धलाई नयाँ उँचाइमा उठाउने अवस्था सिर्जना भएको बताए।
उनले सुरेश वाग्लेले पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा आफूलाई उभ्याएको र नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेको स्मरण गर्दै वाग्लेले आफ्नो चरित्र र विशेषताका कारण नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गरेकाले आजको पुस्ताले त्यसबाट पनि सिक्नुपर्ने बताए।
प्रतिक्रिया