तिम्बुङ पोखरीमा ट्रेल रन हुँदै


ताप्लेजुङ ।

समुद्र सतहदेखि ४,३०० मिटर उँचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा आयोजना हुन लागेको ‘तिम्बुङ पोखरी ट्रेल रन’को तयारी अन्तिम चरणमा पुगेको छ।

तिम्बुङ पोखरी संरक्षण तथा प्रवर्द्धन समितिले भदौ २६ गते हुने यस दौडको तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो। समितिका सल्लाहकार कैलाश राईका अनुसार, दौडका लागिआवश्यक सबै तयारी पूरा भएको छ।

रनको दूरी तिम्बुङ पोखरीबाट ओरालो गर्दै करिब ८ किलोमिटर (७.८ किमी) सम्म तय हुनेछ। हालसम्म ११ जनाले यस दौडका लागि आफ्नो नामदर्ता गराइसकेका छन्। आयोजकले सहभागीहरूलाई थप आकर्षित गर्न बिजेताहरूलाई नगद पुरस्कारको व्यवस्था पनि गरेको छ।

बिजेताले नगद ३० हजार, उपबिजेताले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।